माडी, ५ फागुन ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले निकुञ्जभित्र सडक निर्माण प्रक्रियाको कागजातहरु वन र भौतिक पूर्वाधार हुँदै अर्थ मन्त्रालयमा पुगेको बताएकी छन् ।
वसन्तपुर युथ क्लबद्वारा आयोजित ‘माडी क्रिकेट कप-२०८०’ को समापन समारोहको प्रमुख अतिथिका रुपमा बोल्दै नगरप्रमुख दाहालले चितवन राष्ट्रिय निकुञ्जभित्र वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) र डिपिआरका लागि आवश्यक कागजातहरु वन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको जानकारी दिएकी हुन् ।
अब क्याबिनेट निर्णय भएपश्चात काम अगाडि बढ्ने उनले बताइन् । यसबिचमा मन्त्रालयका सचिव एवं उच्च अधिकारीहरुबाट स्थलगत अवलोकन र अन्य कयौं कामहरु भएको पनि उनले जानकारी दिइन् ।
भरतपुर भ्रमण वर्षको सन्दर्भमा ठोरी नाका खुलाउन महानगरले पहल र पत्राचार गरेको र छिट्टै ठोरी नाका खुला हुने भन्दै नगरप्रमुख दाहालले भरतपुर भ्रमणमा आएका पर्यटकहरुलाई माडी पनि घुमाउने बताइन् ।
माडीको विकासका लागि आफूले सबैसँग हातेमालो गर्ने भन्दै उनले पर्यटन र कृषि क्षेत्रमा माडीको राम्रो भविष्य रहेको औंल्याइन् । रीउ करिडोरलाई माडीको दीर्घकालीन योजनाको रुपमा अगाडि बढाउन सघाउने उनको प्रतिबद्धता थियो ।