भरतपुर, ४ फागुन ।
एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणको खेल शुक्रबारबाट सुरु भएको छ । उद्घाटन खेलमा नारायणी नमुना माविले अङ्कुरम् एकेडेमीलाई ९३ रनको फराकिलो अन्तरमा हराउँदै विजयी सुरुआत गरेको छ । समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा अङ्कुरम् एकेडेमीलाई पराजित गर्दै नारायणीले २ अंक सुरक्षित गरेको छ ।
भरतपुर–१५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नारायणी नमुना माविले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन जोड्यो । नारायणीका लागि तल्लोक्रममा २९ बल खेल्दै ४ चौकासहित सन्देश खनालले सर्वाधिक २८ रन बनाए । १३ बल खेलेका सबिन खरेलले १८ रन जोडे ।
बलिङमा मनोज सापकोटाले २, इन्सिप पौडेल, अमुरोध सिग्देल, विप्लव पोख्रेल, दिवस गैरे, आरोहण अधिकारी र आर्यन गुरुङले समान १ विकेट लिए । १ सय ४४ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ थालेको अङ्कुरम् १३.२ ओभरमा ५० रन बनाउँदा अलआउट भयो । अङ्कुरम् एकेडेमीका ओपनर विप्लव पोख्रेल २४ बलमा ५ चौकासहित सर्वाधिक २६ बनाउदा चन्दन यादवको बलमा एलबीडब्लु धरापमा परे ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अङ्कुरम् एकेडेमीको इनिङ्स ध्वस्त बनाउने क्रममा उमेश महतो एक्लैले ६ विकेट लिए । निखिल चापागाई, संजय यादव र चन्दन यादवले समान १ विकेट लिए । ४ ओभरमा १४ रन खर्चँदै ६ विकेट लिएका उमेश महतो खेलको प्लेयर अफ द म्याच भए ।
प्रतियोगिता अन्तर्गत शनिबार २ खेल हुनेछन् । पहिलो खेलमा अर्किड इंग्लिस स्कुलले विश्वप्रकाश माविसँग प्रतिस्पर्धा गर्नेछ । अर्को खेलमा वाल्मीकि शिक्षा सदन र लक्ष्मी मावि आमनेसामने हुनेछन् ।
प्रतियोगिताको शुक्रबार औपचारिक रुपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा भइरहेको प्रतियोगितालाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले प्रमुख प्रायोजन गरेको छ ।
उद्घाटन समारोहमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले लिग चरणमा प्रवेश गरेका संस्थागत र समुदायिक गरि १० विद्यालयलाई जर्सी हस्तान्तरण गरेका थिए । एक्सपर्टले प्रतियोगितामा सहभागि सामुदायिक १० विद्यालयलाई नै क्रिकेट किट सहयोग हस्तान्तरण गरि सकेको छ ।