भरतपुर, ३ फागुन ।
भरतपुरस्थित गुरुकुल स्कुलले कवि प्रकाश चापागाईंलाई विद्यालयमा निम्त्याएर कविता वाचन गराएको छ । विद्यालयको अतिरिक्त कार्यक्रम अन्तर्गत पाहुना कविलाई निम्त्याएर कविता वाचन राखिएको व्यवस्थापन सङ्काय दिवासत्र प्रमुख सुशील रेग्मीले बताए ।
कवि चापागाईंले कक्षा ११ का विद्यार्थीको उपस्थिति माझ कविता वाचन गरेका हुन् । चापागाईंले हालै प्रकाशित `कमिलाको प्वाँख´ कवितासङ्ग्रह भित्रबाट ७ वटा कविता वाचन गरे । उनले स्यालको शासन, खम्बा उखेल्नेसित, लय ताल फेर्न, यहीँ मर्न आएँ, आँखा नला भारत, बाँकी सबै बिर्सिएँ र आमा थलामा परिन् शीर्षकका कविता सुनाए । कवि चापागाईंले कार्यक्रममा विद्यार्थीलाई छन्द कविताको बारेमा जानकारी पनि गराएका थिए । मुक्त कवितामा पनि छन्दको मीठो भाव हुने उनले विद्यार्थीलाई बताए ।
आफ्ना कवितामा देश प्रेम र विद्रोही चेतना भएको बताउँदै चापागाईंले पञ्चायतका विरुद्ध कविता लेख्दैगर्दा आज पनि गणतन्त्रका विकृतिमाथि तिखो प्रहार गर्नुपर्ने बाध्यता रहेकोे र यसलाई कवितामा उतारेको बताए । कविता सुनाउँदै गर्दा चापागाईंले बिचबिचमा विद्यार्थीलाई आफ्ना कविताबारे जिज्ञासा राखेका थिए । गुरुकुलले आफूलाई अतिथि कविकारूपमा आमन्त्रण गरेर आफ्ना कविता विद्यार्थीलाई सुनाउने अवसर दिएकोमा कवि चापागाईंले धन्यवाद दिए ।
झण्डै १२० जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार लामिछाने र अंग्रेजी विषय प्रमुख विश्वराज सुवेदीको पनि सहभागिता रहेको थियो । कार्यक्रमलाई गुरुकुल माविका प्राचार्य टीकाराम चापागाईंले मन्तव्यसहित समापन गरेका थिए ।