भरतपुर, ३ फागुन
पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा शनिबारदेखि एक हप्तासम्म त्रिपिटक (कंग्युर) पाठ र धार्मिक प्रवचन हुने भएको छ । धार्मिक अनुष्ठानको आयोजक पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिले बिहीबार गुम्बा परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी त्रिपिटक पाठ एवं धार्मिक प्रवचनबारे जानकारी गराएको हो ।
आयोजक मूल समितिका संयोजक सन्तलाल गुरुङले प्राणीहरुको कल्याण र विश्वशान्तिका लागि बौद्ध धर्मग्रन्थ त्रिपिटक पाठसँगै धार्मिक प्रवचनको कार्यक्रम राखिएको बताए । पहिलो दिन ५ गते शनिबार बिहान शोभायात्रा निकालिने जानकारी दिँदै संयोजक गुरुङले १२ गते समापन कार्यक्रम गरिने बताए । धार्मिक अनुष्ठानलाई सफल पार्न पाँच हजार रुपैयाँभन्दा माथि आर्थिक सहयोग गर्ने दानवीरहरुलाई प्रमाणपत्र र खादाले सम्मान गरी शीलालेखमा नाम लेखिने जानकारी दिइएको छ ।
सप्ताहव्यापी धार्मिक अनुष्ठानमा टुल्कु रिन्पोछे थुब्वाङ तेन्जिन गुरुङ, खेम्पो रिन्पोछे रनबहादुर गुरुङ, खेम्पो रिन्पोछे नरेश गुरुङ, खेम्पो रिन्पोछे शिर लामा गुरुङ र खेम्पो रिन्पोछे सन्तोष गुरुङले धार्मिक प्रवचन एवं अन्य कार्य गर्ने बताइएको छ । यस कार्यक्रमको पूजा प्रमुख तथा प्रमुख वाचक खेम्पो रिन्पोछे दशरथ गुरुङ र पूजा सहसंयोजक रक्षेबहादुर गुरुङ रहेका छन् । अनुष्ठानमा बिहान ७ बजेबाट साँझ ६ बजेसम्म पूजापाठ हुनेछ ।