निस्सार नदिका फाँटहरुमा
एक ढुङ्गो हराएछ कतै
छालले लुकाएर जतन गरेको रहेछ,
लुकाउनु त माया पो हुँदोरहेछ ।
साइकलको पाइडलमा एकजोर खुट्टाहरु खटिएका छन्
जति दुर जति विपरीत होस्
तिनीहरूको काम त एकै हो
सँगै हिँडिरहन्छन् चाहेर पनि नचाहेर पनि ।
यो पृथ्वी एक्लो हुन्छ भनेर प्रिय चाँदनी बनाएको छ सृष्टिले
यसरी एक्लै बाँच्न त जूनतारालाई पनि ऐँठन त हुने रैछ नि ।
यी दुई आँखा छन्
जो कहिले भेट गरेका छैनन्
यिनैबाट मैले प्रेम गर्न सिकेको हो
भेटै नभएर सारा जिन्दगी बिताउने छन् निरन्तर ।
यी हेर त,
भर्खर त चिसो रात भयो
रातले बिहानीलाई कुरिरहेको छ
तर खोइ… भेट पो हुँदैन कि त्यो न्यानो बिहानीसँग ?
बचपनकाे स्वरविहिन बालक
आँखाका इसारा मात्रै बुझेर आमाले सप्पै कुरा पुर्याउँछिन्
तिमी त्यसरी नै मैले नबोलेर इसारामै के सधैँ माया गरिराख्छौ ?
लौरो भाँचिएर अपाङ्ग भएको छ यो शरीर ।
सके लौरो दिनु
नसके हात दिनु
म उठ्न सकुँ जुरुक्क
फगत यी माटोसँग जोडिएका खुट्टाहरुलाई तागत रहेन तिम्रो सहारा बिना उठ्न ।
जिन्दगीमा दिन बित्दै जाँदा खुसी कम हुँदै गए भने
तिमी साथमा हुनु
तिमी श्वासमा हुनु ।
म एक एक श्वास तानेर हृदयमा पुर्याउने छु
तिमी हृदयको गोरेटो हुँदै रगतमा मिसिदिनु है !
(कवि बोगटी लम्कीचुहा नगरपालिकामा जनस्वास्थ्य अधिकृत हुनुहुन्छ ।)