मकवानपुर, २ फागुन ।
मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो खेलमा आयोजक बागमती खेलकुद विकास समिति विजयी भएको छ । हिमालय शेर्पालाई ट्राइबेकरमा ५–४ गोल अन्तरले हराउँदै बागमती विजयी भएको हो ।
प्रतियोगिताको दोस्रो दिनको खेलको निर्धारित समयमा बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको पहिलो हाफमा कुनै पनि गोल हुन सकेन । दोस्रो हाफको सुरुवाती मिनेटमा बागमतीका लतिल चौलागाईले गोल गर्दै अग्रता कायम गरेको थियो । दोस्रो हाफको अतिरिक्त समयको ९२ औं मिनेटमा शेर्पाले प्राप्त गरेका पेनाल्टीलाई सुदीप श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
ट्राइबेकरमा हिमालयन शेर्पाको तर्फबाट भएकाे चार प्रहार गोलमा परिणत हुँदा सुदिप श्रेष्ठको प्रहार बागमीतका गोल रक्षक पवन आले मगरले बचाएका थिए । यस्तै बागमतीकाे ५ वटै प्रहार गोलमा परिणत भएको थियो ।
आजको खेलका म्यान अफ द म्याच बागमतीका ललित चौलागाईं भए । उनले नगर १० हजार प्राप्त गरे । बागमती गाउँपालिका फापरबारी स्थित जनता माविको खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तर्गत विहीबार न्युरोड टिम (एनआरटी) र नव जन जागृती क्लव सिमरा बारा बीच खेल हुनेछ । फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैंया तथा उपविजेताले नगद ५ लाख रुपैंया प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । पाँचौँ संस्करणको उपाधिको विजेता भुट्निज युथ स्पोर्ट्स क्लवले भने यो प्रतियोगितामा सहभागिता जनाएको छैन ।