भरतपुर, २ फागुन ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाले माडीस्थित एक विद्यालयलाई शैक्षिकसामग्री उपलब्ध गराएको छ । ११औं राष्ट्रिय पुस्तक दिवस तथा वसन्त पञ्चमीको अवसर पारेर माडी नगरपालिका- ६ स्थित मनमोहन बालग्रामलाई २ लाख रुपैयाँ बराबरका शैक्षिक एवम् खेलकुदका सामग्री उपलब्ध गराइएको महासंघ चितवन शाखाका अध्यक्ष परमेश आचार्यले जानकारी दिए ।
सरस्वती पूजाको अवसरमा महासंघले देशैभरका शाखाहरूमार्फत शैक्षिकसामग्री वितरण गर्दै आइरहेको छ । चितवन शाखाले पनि जिल्लाभित्र विभिन्न पालिकामा पालैपालो शैक्षिक एवम् खेलकुदका सामग्री वितरण गर्दै आएको छ । बुधबार बालग्राम परिसरमा कार्यक्रम आयोजना गरी उक्त सामग्री उपलब्ध गराइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले शिक्षा पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको बताए । बालबालिकालाई शिक्षा आर्जन गर्नमा शैक्षिक एवम् खेलकुदका सामग्रीले ठुलो सहयोग पुग्ने उपप्रमुख महतोले विश्वास लिए । `माडी नगरपालिकाले पनि नगरभित्रका सबै विद्यार्थीलाई शिक्षाको सुनिश्चितता गर्दै शैक्षिक सहयोगमा सदैव साथ दिनेछ ।´, उपप्रमुख महतोले भने ।
कार्यक्रममा माडी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष दीपेन्द्रराज पौडेल, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय सदस्यहरू सरोज मास्के, राजेन्द्र तिवारी र बुद्धिसागर कँडेल, महासंघ चितवन शाखाका पूर्वअध्यक्ष विष्णुप्रसाद धिताल, निवर्तमान अध्यक्ष उद्योगविक्रम बानियाँ, बागमती प्रदेश सल्लाहकार हरि पौडेल, बालग्रामका अध्यक्ष टंकप्रसाद पौडेल, जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर जिसी, अध्यक्ष श्यामकुमार विष्ट, मनमोहन बालग्रामका सञ्चालक टीका आचार्य, शिक्षक मोती अधिकारी, सामाजिक अभियन्ता श्रीप्रसाद दवाडी, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवनका सल्लाहकार निर्मलकुमार श्रेष्ठ, लेखा संयोजक डिलराज डुम्रे, प्रथम उपाध्यक्ष वीरबहादुर न्यौपानेलगायतले मन्तव्य राखेका थिए । महासंघको नियमित कार्यक्रम यसपटक माडी क्षेत्रमा सहयोग गरिएको कार्यक्रम संयोजक कृष्ण लामिछानेले जानकारी दिए । कार्यक्रमलाई महासंघ चितवन शाखाका सचिव केशव देवकोटाले सहजीकरण गरेका थिए ।