खैरहनी, २ फागुन ।
खैरहनी नगरपालिका वडा नम्बर- १० कठारमा स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनिया र उपप्रमुख कविता उप्रेतीले स्वाथ्य चौकी भवनको शिलान्यास गरेका हुन् ।
आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाउन खैरहनी नगरपालिका वडा नम्बर १० को वडा कार्यालयसँगैको जग्गामा स्वास्थ्य चौकी भवन निर्माण हुन लागेको नगरपालिका प्रमुख शशीकुमार खनियाले जानकारी दिए । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख शशीकुमार खनियाले नगरपालिकाले भौतिक पूर्वाधार निर्माणसँगै स्वास्थ्य, शिक्षा र पोषणका कार्यक्रमहरु सघन रुपमा सञ्चालन गरिरहेको उल्लेख गरे । कठार स्वास्थ्य चौकीको भवन भविस्यमा अस्पतालको सेवा दिन सक्नेगरी निर्माण गर्न लागेको नगर प्रमुख खनियाको दाबी छ ।
स्वास्थ्य चौकी भवन नगरपालिकाले यसै आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्यको थालनी भएको र यही आर्थिक वर्षको अन्त्यसम्म पूर्णरूपमा निर्माण सम्पन्न हुने नगर उपप्रमुख कविता उप्रेतीले जानकारी गराइन् । स्थानीय बासिन्दा, स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधिहरु र कर्मचारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा वडा नम्बर- १० का वडाअध्यक्ष चन्द्रविक्रम चौधरीले स्वास्थ्य चौकीको अत्याधुनिक भवन निर्माण सम्पन भएपछि खैरहनी नगरपालिकाको वडा नम्बर ९, १० र ११ का नगरबासीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने उल्लेख गरे ।
सो भवन एक करोड २८ लाख ७० हजारमा निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको र १३६८ वर्गफिट जमिन भवनले ओगट्ने खैरहनी नगरपालिकाका इन्जिनियर समुद्र कँडेलले जानकारी दिएका छन् ।