मकवानपुर, १ फागुन ।
बागमती गाउँपालिकामा मंगलबारबाट सुरु छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेकाे छ । बागमती गाउँपालिका फापरबारीस्थित जनता माविको खेल मैदानमा भएकाे उद्घाटन खेलमा मच्छिन्द्रले राइटलेन बागमती क्लब सर्लाहीलाई ५–२ गोल अन्तरले हराएकाे हाे ।
मच्छिन्द्रले खेलकाे पहिलाे हाफमा २ र दाेस्राे हाफमा ३ गाेल गर्यो । यसैगरी बागमतीले खेलकाे दाेस्राे हाफमा २ सान्त्वना गोल गरेकाे थियाे । खेलकाे म्यान अफ दि म्याच मच्छिन्द्रका विमल घर्ती मगर घाेषित हुँदै १० हजार हात पारे । प्रतियाेगिता अन्तर्गत बुधबार आयोजक बागमती खेलकुद विकास समिति र हिमालयन शेर्पा क्लब बीच खेल हुनेछ ।
खेलकुद विकास समिति बागमतीकाे आयोजनामा संचालन भएकाे प्रतियोगिताकाे बागमती गाउँपालिका मुख्य प्रायोजक रहेकाे छ । प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको आयोजकले जनाएकाे छ ।
फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँ तथा उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । पाँचौँ संस्करणको उपाधिकाे विजेता भुट्निज युथ स्पोर्ट्स क्लवले भने याे प्रतियाेगितामा सहभागिता जनाएको छैन ।