भरतपुर, १ फागुन
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले व्यवहारिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । आजका विद्यार्थी किताबी अध्ययनमा मात्रै सीमित भएको टिप्पणी गर्दै उपप्रमुख अधिकारीले व्यवहारिक शिक्षाले विद्यार्थीलाई थप सिकाइतर्फ केन्द्रित गर्ने बताए ।
शरदपुर माध्यमिक विद्यालय भरतपुर – ८ र ९ को ४९औँ वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई मंगलबार उद्वघाटन गर्दै अधिकारीले भरतपुर महानगरपालिकाले प्रत्येक शुक्रबार झोला र किताबरहितको व्यवहारिक शिक्षाको अवधारणा ल्याएको उल्लेख गरे ।
अहिले भरतपुर महानगरपालिकाले व्यवहारिक शिक्षालाई परिक्षणको रूपमा लागू गरिरहेको उल्लेख गर्दै महानगरले प्रत्येक शुक्रबारलाई व्यवहारिक शिक्षाको रूपमा लागू गर्ने गरी कार्यविधि बनाएर अगाडी बढेको पनि प्रष्ट पारे । शुक्रबारलाई झोला र किताब रहित बनाउने उदेश्यका साथ प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ छ ।
`विद्यार्थीहरुको सिकाइलाई विद्यालयका पाठ्यपुस्तकको दायरामा मात्र सिमित हुन नदिन, विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने थलोका रूपमा विकास गर्न, प्रतिभा प्रस्फुटनका अवसर प्रदान गर्नलगायतका थुप्रै व्यवहारिक क्रियाकलापहरु शुक्रबारीय दिनमा गरिने छ ।´ उपप्रमुख अधिकारीले भने ।
विद्यालयका प्रधानाध्यापक भोलानाथ सापकोटाले बार्षिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा भरतपुर- ८ का वडा अध्यक्ष जीवनाथ कँडेल, शिक्षा विकास तथा समन्वय इकाइ चितवनका प्रमुख भूमिलाल सुवेदी, लक्ष्मी माध्यमिक विद्यालय लंकुका प्रधानाध्यापक रेशमबाबु ढकाल, त्रिपुरेश्वर कृषि सहकारी संस्थाका अध्यक्ष बेदप्रसाद सापकोटालगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयको शैक्षिक उन्नति र प्रगतिमा विभिन्न समयमा सहयोग गर्ने समाजसेवी, बुद्धिजीवी तथा पेशाकर्मीहरुलाई सम्मान गरिएको थियोे ।