शाश्वतधाम, २९ माघ ।
पूर्वी नवलपरासीमा तेस्रो संस्करणको घडियाल काव्य उत्सव गरिएको छ । ह्याप्पी एफएमको आयोजनामा गरिएको कार्यक्रममा पहिलो दिन माघ २८ गते र दोस्रो दिन २९ गते गरी विभिन्न ७ वटा विषयमा छलफल कार्यक्रम भएका छन् । शाश्वतधाममा गरिएको कार्यक्रमलाई गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटन गर्दै मन्त्री जिसीले घडियाल काव्य उत्सवले लोपोन्मुख घडियाल गोहीको संरक्षणसँगै प्रकृति संरक्षण एवम् यस क्षेत्रको पर्यटन र साहित्यको प्रबर्द्धनमा टेवा पुग्ने बताए ।
उद्घाटनपछि विभिन्न शीर्षकमा छलफल भएका छन् । पहिलो दिन `नवलपुरमा पर्यटन : हिजो, आज र भोलि´ शीर्षकमा छलफल भएको छ । यो सत्रमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका सचिव डाक्टर रामचन्द्र कँडेल र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेसँग पत्रकार विद्रोही गिरीले छलफल गरेका हुन् । नवलपुर क्षेत्र नारायणी किनार र चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको हुनाले यस क्षेत्रलाई प्रचारप्रसार गर्न सके चितवनको सौराहाभन्दा आकर्षक गन्तव्य गराउन सकिने विचार राखेका छन् ।
त्यस्तै दोस्रो सत्र अन्तर्गत `पृथ्वीका अन्तिम डायनासोर घडियाल´ शीर्षकमा शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डे र डब्लुडब्लुएफ नेपालका स्वच्छ जल कार्यक्रम अधिकृत करुण देवानसँग नेचर फोटोग्राफर सुवास अनिर्जित बस्ताकोटीले संवाद गरे । घडियाल संरक्षणको लागि सबैभन्दा पहिला पानीलाई फोहोर गर्न नहुने वक्ताहरूले बताए । उद्योग कलकारखानाले फाल्ने फोहोर पानीलाई सोझै नदीनालामा मिसाउनु मानवीय गल्ती भएको उनीहरूको निष्कर्ष थियो ।
त्यस्तै तेस्रो कार्यक्रमका रूपमा `मौलाकालिकादेखि त्रिवेणी : सानो जिल्लाको विराटता´ शीर्षकमा त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका अध्यक्ष झपेन्द्रश्वर भुसाल र धार्मिक सेवा समिति, मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटासँग पत्रकार रमेश बस्ताकोटीले संवाद गरे । जिल्लामा थुप्रै पर्यटकीय स्थान भए पनि त्यसलाई स्तरोन्नति गरी ल्याउन नसकिएको वक्ताहरुले बताए । संघीय सरकार, स्थानीय सरकार, राजनीतिक दल र पत्रकार सबैले समन्वयकारी भूमिका खेल्न सके नवलपरासीको पर्यटनलाई माथि उठाउन सकिने छलफलको निष्कर्ष थियो । पहिलो दिनको अन्तिम कार्यक्रमका रूपमा `प्रकृति, पर्यटन र साहित्य´ शीर्षकमा छलफल गरिएको छ । यो सत्रमा लेखक अमर न्यौपाने र ददि सापकोटासँग पत्रकार सूर्यप्रकाश कँडेलले संवाद गरेका हुन् । लेखनका माध्यमबाट स्थान विशेषको चर्चा हुने र पाठकले त्यसलाई पछ्याउँदै आउने अमर न्यौपानेले बताए । मदन पुरस्कार प्राप्त आफ्नो कृति `सेतो धरती´ पढेर स्वदेश र बिदेशबाट पनि मानिसहरू देवघाट आएको सन्दर्भ उनले सुनाए । अर्का वक्ता ददि सापकोटाले प्रकृतिमा रहेर जीवजन्तू तथा चराचुरुङ्गीलाई संरक्षण गरे मात्रै पर्यटनलाई बचाउन सकिने बताए । सापकोटाले जीवजन्तूको आनीबानी र महत्त्व बारेमा चर्चा गरेका थिए ।
काव्य उत्सवको दोस्रो दिन सोमबार तीन वटा सेसन भएका छन् । दोस्रो दिनको पहिलो कार्यक्रम अन्तर्गत `आँगनीमा लिट् – नेचर्´ गरिएको छ । यो कार्यक्रमलाई लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा एलबी क्षेत्री, धनराज गिरी, लोकनाथ खरेल, दीपक भट्टराई, विष्णुदेवी तिवारी उषा, हेमा आले, अशोक अधिकारी, परिविक्रम, जीवन युगिन र आदर्श सुशीलले प्रकृति संरक्षण सम्बन्धि रचना वाचन गरेका छन् । सोही कार्यक्रममा कवि जीवन युगिनले पूर्वीनवलपरासीको पर्यटनको भविस्य र यसको संभावना बारेमा बोलेका थिए । उत्तरमा कालीगण्डकी र पूर्व तथा दक्षिणमा नारायणीले जोडिएको यो क्षेत्रमा सबैखाले पर्यटनलाई प्रबर्द्धन गर्न सकिने संभावना रहेको युगिनले बताए । त्यसैगरी एलबी क्षेत्री, धनराज गिरी र लोकनाथ खरेलले पनि प्रकृति जोगाएर पर्यटनलाई विस्तार गर्नुपर्ने बताए ।
त्यसैगरी `गोलमेच पालिका बहस : लगाव र लगानी´ छलफल कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा र गैंडाकोट नगरपालिका- १३ का वडाध्यक्ष मधुकर मल्लसँग पत्रकार सञ्जय भट्टराईले कुराकानी गरे ।
त्यस्तै `सिने पर्यटन : नवलपरासीदेखि नवलपुरसम्म´ छलफल कार्यक्रममा सिनेकर्मी, प्राध्यापक, युवा उद्यमी
देव भुसाल र कलाकार प्रमोद अग्रहरीसँग रंग पत्रकार गोपीकृष्ण चापागाईँले कुराकानी गरे । सिनेमामार्फत पनि नवलपरासीको सुन्दरतालाई चित्रण गरी पर्यटन प्रबर्द्धन गर्न सकिने छलफलको निष्कर्ष थियो ।
यी छलफलका कार्यक्रम सकिएपछि समापन सत्रमा जिल्लाका दुई व्यक्तित्वलाई सम्मान गरिएको छ । नेपाली साहित्यमा योगदान दिएबापत कवि लोकनाथ खरेललाई `ह्याप्पी प्रकृति साहित्य सम्मान-२०८०´ र पत्रकारितामार्फत जिल्लाको प्रकृति संरक्षण र पर्यटन प्रबर्द्धनमा योगदान गरेको भन्दै पत्रकार सञ्जय भट्टराईलाई `ह्याप्पी प्रकृति संरक्षण पत्रकारिता पुरस्कार-२०८०´ प्रदान गरिएको छ । आभानी मिडिया प्रालिका अध्यक्ष डिल्लीराम कडरिया र प्रबन्ध निर्देशक दिपेश कडरियाले खरेल र भट्टराईलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् । आइतबार र सोमबार गरी दुई दिनसम्म गरिएको कार्यक्रममा नवलपरासी र चितवनका साहित्य सर्जकसँगै देवचुली नगरपालिकाका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता थियो ।
काव्यमार्फत् प्रकृति संरक्षणको मुद्धालाई बुलन्द पार्न २०७५ सालमा सुरु भएको घडियाल काव्य उत्सवको पहिलो संस्करण देवचुली नगरपालिकाको मार्कोपोलो र दोस्रो संस्करण पिप्रहरमा गरिएको थियो । आभानी मिडियाद्वारा संचालित १०३.८ ह्याप्पी एफएमको आयोजनामा गरिएको घडियाल काव्य उत्सवमा लोपोन्मुख घडियाल गोही र प्रकृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको ह्याप्पी एफएमका स्टेसन म्यानेर आदर्श सुशीलले बताए ।