मकवानपुर, २७ माघ ।
मकवानपुरको हेटौंडामा भएकाे ‘स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय गोल्डकप’ काे उपाधि शसस्त्र प्रहरीकाे एपीएफ क्लबले हात पारेकाे छ । शनिबार भएकाे फाइनल खेलकाे सडेन डेथमा २–१ गाेलले न्युराेड टिम (एनआरटी) लाई पराजीत गर्दै एपीएफले उपाधि हात पारेकाे हाे ।
उपाधिसँगै एपीएफले १५ लाख हात पारेकाे छ । यस्तै उपविजेता एनआरटीले १० लाख नगद हात पार्यो । खेलकाे निर्धारित समय गोलरहित बराबरी भए पछि खेल ट्राइबेकरमा धकेलिएकाे थियाे । ट्राइबेकरमा समेत ३–३ काे बराबरी भएपछि खेल सडनडेथमा पुगेकाे हाे । सडनडेथमा एनआरटीका मोहित गुरुङले गाेल गरे भने रणदिप कार्कीकाे प्रहार एपीएफका गाेलरक्षक एन्जल श्रेष्ठले बचाएका थिए । यस्तै एपीएफका मणि लामा र फोडे फोफनाले गाेल गरे । फाइनल खेलको म्यान अफ द म्याज एपीएफका गाेल रक्षक एन्जल श्रेष्ठ घोषित हुँदै नगद १० हजार र ट्रफि हात पारे ।
खेलकाे उत्कृष्ट गाेलरक्षक एपीएफका एन्जल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर एपीएफकै कुलदिप कार्की भए । यस्तै उत्कृष्ट मिडफिल्डर एनआरटीका जय गुरुङ भए भने उत्कृष्ट फरवार्डकाे उपाधि एनआरटी कै जाेन ग्लाेरीले हात पारे । प्रतियाेगिताकाे उत्कृष्ट प्रशिक्षककाे एपीएफका सुमन श्रेष्ठ घाेषित भए । विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घाेषित हुँदै एपीएफका अनिष महर्जनले १ थान बुलेट मोटरसाइकल प्राप्त गरे । यस प्रतियाेगितकाे बुलेट वाइइकाे प्रायाेजन स्व. परशुराम स्मृति प्रतिष्ठानले प्रायाेजन गरेकाे हाे ।
बुधबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा धनकुटाको राजारानी क्लबलाई टाइबेरकरमा १७–१६ गोलले हराउँदै एनआरटी फाइनलमा प्रवेश गरेको थियो । यस्तै, बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीको बागमती क्लबलाई ४–० गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको थियाे । आयोजकका अनुसार प्रतियोगितामा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लब सहभागी जनाएकाे हाे । यसैगरी प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी थियाे । आयोजककाे तर्फबाट रिगल हेटौंडा रिसोर्टले सहभागी जनाएकाे थियाे । गत माघ १६ गते शहीद दिवसबाट सुरु प्रतियोगिता नकआउट चरणमा खेलाइएकाे हाे । साविक विजेता मनाङ मर्याङ्दी क्लब भने यो प्रतियाेगितामा सहभागी भएन ।
जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा फुटबल संघले शहीद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ ।