भरतपुर, २७ माघ ।
चितवनका कविहरूको कवितावाचन शृङ्खला चियासँग कविताको ५० औँ शृङ्खला गरिएको छ । शनिबार गरिएको यस स्वर्ण शृङ्खलामा हेटौंडाकी कवि शान्ति प्रियवन्दनाले कविता सुनाएकी छन् ।
चियासँग कविताको पहिलो शृङ्खलामा वरिष्ठ कवि गोविन्दराज विनोदीले कविता सुनाएका थिए । त्यो दिन २०७३ साउन १५ गते थियो । त्यसपछि नियमितरूपमा भैरहेको यो कार्यक्रम कोरोनाकालमा रोकिएको थियो । `अहिले अवस्था सहज भएकोले यो शृङ्खलालाई नियमित लैजाने भएका छौँ´, शृङ्खलाका सदस्य भूपिनले भने ।
कवि शान्तिले समय शीर्षकको कविता सुनाएर कार्यक्रमको शुरुआत गरिन् । समयले आफूलाई धेरै कुरा सिकाएको र समय अनुसार आफू चल्ने कोसिस गरेको भाव उनले कवितामा उतारेकी थिइन् । कार्यक्रमको नियम अनुसार शान्तिले १२ वटा कविता सुनाइन् । वोनस कविताको रूपमा उनले आफ्नो कवितासङ्ग्रह जिल खाइरहेको एक्काइसौं शताब्दीबाट एउटा कविता थप सुनाइन् । शान्तिका कवितामाथि ईश्वर कँडेल, उदय अधिकारी, डाक्टर एकनारायण पौड्याल र नमूना शर्माले टिप्पणी राखेका थिए ।
भरतपुरस्थित होटल गुलमोहरमा गरिएको कार्यक्रममा कविता सुन्न शान्तिका परिवार र चितवनका स्रस्टाहरूको बाक्लो उपस्थिति थियो ।