भरतपुर, २६ माघ ।
नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुरका विभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । भरतपुर-५ स्थित श्री कैलाशनगर माध्यमिक विद्यालयपछि यो हप्ता श्री राष्ट्रिय मावि तोरीखेतका कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
जसमा ७० जना विद्यार्थी सहभागी थिए । विद्यालयमा स्तरमा यो वित्तीय साक्षरता कार्यक्रम चितवन जिल्लामा पहिलो कार्यक्रम रहेको बताइएको छ । आफ्नो कार्यक्षेत्रभित्र रहेका सम्पूर्ण शिक्षण संस्थामा कार्यक्रम संचालन गरी वित्तीय साक्षरताको ज्ञान विद्यार्थीलाई स्कुले जीवनदेखि नै दिँदै लैजानाले आर्थिकरूपले भविष्य संकटमा नपर्ने नवदुर्गा भवानी साकोसका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । `स्कुलस्कुलमा वित्तीय साक्षरता´लाई अभियानको रूपमा लैजाने अध्यक्ष सापकोटाले बताए ।
विद्यालयका प्रधानाध्यापक करूणाकर पण्डितले वित्तीय साक्षरता कार्यक्रम विद्यालय स्तरमा एकदम उपयुक्त रहेको र समयसापेक्ष नवदुर्गाले यस्तो कार्यक्रम संचालन गरेकोमा धन्यवाद दिए । कार्यक्रमलाई संस्थाका सचिव रामकृष्ण पौडेल र व्यवस्थापक विष्णुप्रसाद पौडेलले वित्तीय साक्षरताबारे सहजीकरण गरेका थिए । वित्तीय साक्षरता कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरू र नवदुर्गा भवानी साकोसका संचालकहरू पनि सहभागी रहेका थिए । कार्यक्रमलाई झलकप्रसाद सिग्देलले सञ्चालन गरेका थिए ।