गैंडाकोट, २५ माघ ।
गैँडाकोट नगरस्तरीय प्रतियोगितात्मक गणित विषयक शैक्षिक प्रदर्शनीको आधारभूततर्फको प्रतियोगितामा स्मल हार्ट एकेडेमी प्रथम भएको छ । विजय आधारभूत विद्यालयले दोस्रो स्थान र महेन्द्र स्मारक आधारभूत विद्यालय तेस्रो भएका छन् ।
गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा जनक नमुना माध्यमिक विद्यालयको संयोजनमा भएको प्रतियोगितात्मक गणित विषयक शैक्षिक प्रदर्शनीमा गैँडाकोट नगरपालिका भित्रका २२ वटा विद्यालयले सहभागिता जनाएका थिए । सहभागी विद्यार्थीले गणित विषयसँग सम्बन्धित विभिन्न सामग्री प्रस्तुत गरेका थिए ।
गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डा. बालकृष्ण चापागाईंले हरेक बालबालिकामा फरक–फरक क्षमता हुने भएकाले एउटा विषयमा मात्र केन्द्र हुँदा त्यसले राम्रो प्रभाव पार्ने भएकाले यो कार्यक्रम गरिएको बताए ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले शिक्षाको क्षेत्रमा आगामी दिनमा अन्य सिर्जनात्मक कार्यक्रम गर्ने बताए । त्यस्तै उपप्रमुख शान्ति कोइरालाले यस्ता कार्यक्रमले विद्यार्थीलाई पढाइमा रुची बढाउने बताउँदै प्रयोगात्मक शिक्षामा नगरपालिकाले जोड् दिने बताइन् ।
जनक नमुना माविका प्रधानाध्यापक चुडामणि शर्माले पठन संस्कृतिको विकास होस् भन्ने उद्देश्यले प्रतियोगितात्मक गणित विषयक शैक्षिक प्रदर्शनी कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, विभिन्न वडाका जनप्रतिनिधि, शिक्षाप्रेमी, शिक्षक प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।