गैंडाकोट, २४ माघ ।
त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासीले नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२२औँ जन्मजयन्ती मनाएको छ । ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा एवं कृति सार्वजनिक कार्यक्रम त्रिवेणी साहित्य परिषदको भवन गैंडाकोटमा भएको हो ।
कार्यक्रममा साहित्यकार श्रीजन लम्साल प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि लम्सालले बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदानका बारेमा चर्चा गर्दै सम पारिवारिक परिवेशकै कारण वाङ्मय क्षेत्र प्रति आकर्षित भएको बताए ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक तथा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले बालकृष्ण समको कविता, नाटक, कथालगायतका विधामा उत्कृष्ट कृति रचना गरी नेपाली वाङ्मयको उन्नयनमा अतुलनीय योगदान रहेको बताए । प्राडा नारायणप्रसाद खनालले समको व्याक्तित्व र कृतित्वको चर्चा राखेका थिए । सोही अवसरमा होमनाथ अधिकारीद्वारा लिखित दर्पण कवितासंग्रह बिमोचन गरिएको थियो । विमोचित कवितासङ्ग्रहका बारेमा साहित्यकार श्यामजी अतिथिले चर्चा गरेका थिए ।
कार्यक्रममा कविहरु प्रेमराज सापकोटा, कर्णेल धनबहादुर मास्की राना, मुक्तिनाथ नेउपाने, विष्णु पन्थी, कृष्णप्रसाद बास्तोला, उदयनाथ रेग्मी, भूमिका गैरे तिमिल्सिना, लीला राना, उजिर राना, धर्मानन्द शर्मा, भानुभक्त सापकोटा, तितेपातीलगायतले समको बारेमा कविता प्रस्तुत गरेका थिए । कार्यक्रमलाई प्रतिष्ठानका सचिव रामहरी शर्मा “शराह”को सहजीकरण गरेका थिए ।