मकवानपुर, २३ माघ ।
मकवानपुरको हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा शसस्त्र प्रहरीकाे एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ । आहा रारा गोल्डकपको उपविजेता थ्री स्टार क्लबलाई ४–० गोलअन्तरले हराउँदै एपीएफले सेमिफाइनलमा स्थान बनाएको हो ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएकाे छैठौं संस्करण अन्तरगत मंगलबारकाे चौथो क्वार्टरफाइनलमा एपीएफले पहिलाे हाफमा हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको हो। थ्रीस्टारमाथि एपिएफले ४५ औँ ४८ औं ५८ औं र ७९ औं मिनेटमा एकतर्फी गोल गरेकाे थियाे । मंगलबारकाे खेलसँगै प्रतियाेगिताकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ ।
खेलमा एपीएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित हुँदै दश हजार रुपैयाँ प्राप्त गरे । यसअघि सर्लाहीको बागमती युवा क्लब, न्यु रोड टिम एनआरटी र नेपाल आर्मी सेमिफाइनल प्रवेश गरिसकेको छ । प्रतियाेगिता अन्तरगत बुधबारबाट सेमिफाइनलका खेल हुने आयाेजकले जनाएकाे छ ।
आगामी माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले दश लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन्। यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५/२५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।