मकवानपुर, २२ माघ ।
मकवानपुरको हेटौँडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनकुटाको राजारानी क्लब सेमिफाइनल प्रवेश गरेको छ । त्रिभुवन आर्मीलाई ५–४ गोलअन्तरले पराजित गर्दै राजारानीले सेमिफाइनलमा स्थान बनाएको हो ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएकाे छैटौं संस्करणकाे सोमबारकाे तेस्राे क्वार्टरफाइनल खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएकाे थियाे । राजारानीले मकवानपुर गोल्डकपको तेस्रो र चौथौ संस्करणको विजेतासमेत रहेकाे त्रिभुवन आर्मीलाई पराजीत गरेकाे हाे ।
राजारानीका गोलरक्षक दिप कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दी म्याच घोषित भए । उनले दश हजार रुपैयाँ प्राप्त गरे । आर्मीले खेलकाे पहिलाे हाफकाे १० औं मिनेटमा गोल गर्दै खेलमा अग्रता कायम गरेका थियो । राजारानीले दाेस्राे हाफकाे ८३ औं मिनेटमा गोल गर्दै खेलमा बराबरी गरेका थियाे ।
सेमिफाइनलमा राजारानी धनकुटाले न्यूरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत मंगलबार थ्रीस्टार र सशस्त्र प्रहरीको एपीएफ क्लबसँग क्वार्टरफाइनल अन्तरगत चौथो खेल हुने आयाेजकले जनाएकाे छ ।
आगामी माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले दश लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५/२५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा भएकाे प्रतियाेगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ ।