भरतपुर, २२ माघ ।
बढ्दो ब्याजदर र चेक बाउन्सले संकटमा परेको अधिकृत व्यवसायीले बताएका छन् । आर्थिक मन्दीको असर खेपिरहेका व्यवसायी ब्याजदर एक अंकमा ल्याउन नसके व्यवसायमा टिक्न गाह्रो भएको बताएका छन् । बैंकले बढाएको ब्याजदरले व्यवसाय धरापमा परेको गुनासो छ । अधिकृत व्यवसायी संघको १४ औं साधारणसभामा अधिकृत व्यवसायीले भोगेको समस्या राखेका थिए ।
अध्यक्ष नारायण प्रधानले चेक र ब्याजदर अहिलेको मुख्य समस्या रहेको बताए । `एक अंकको ब्याजदर नबनाए व्यवसायमा संकट आउने खतरा छ´ अध्यक्ष प्रधानले भने- `व्यसाय गरेर खाने वातावरण नै छैन ।´ उनका अनुसार संघले व्यवसायीको हकहित र सामाजिक काममा अग्रसर रहेको बताए ।
त्यस्तै नारायणघाटमा डिलरलाई फालेर अर्कोले सामान बिक्री गर्नु अर्को समस्या भएको व्यवसायीले बताएका छन् । संघले व्यावसायिक हकहितमा सदैव लागि परेको अध्यक्ष प्रधानले बताए । उनले सबै व्यवसायीलाई एकजुट बनाउँदै नयाँ सदस्यता वितरणलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
भरतपुरको दियालो फुडल्याण्डमा भएको साधारणसभामा संघले गरेका गतिविधि प्रस्तुत गरिएको थियो । महासचिव मनोज रौनियारले पेश गरेको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित भयो । प्रमुख अतिथि नेपाल बितरक महासंघका अध्यक्ष हरिराज पन्तले व्यवसायीहरु अहिले समस्यामा रहेको भन्दै सरकारी निकायले व्यवसायीहरुको समस्या बुझाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, अधिकृत व्यवसायी संघका संस्थापक अध्यक्ष पवनकुमार पिया, संस्थापक सल्लाहकार प्रचण्डलाल प्रधान, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद गैरेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित पदाधिकारीहरुलाई संघले सम्मान गरेको थियो ।