भरतपुर, १९ माघ ।
मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू- १९ क्रिकेट प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ । उपाधि भिडन्तमा शुक्रबार गण्डकी प्रदेशलाई हराउँदै बागमती च्याम्पियन बनको हो ।
फाइनलमा बागमतीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।
विजयनगरस्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा गण्डकीले दिएको ८५ रनको लक्ष्य बागमतीले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
बागमतीको जितमा कप्तान सोनी पाख्रिनले २० रन बनाईन् । सोनीले २३ बलमा २ चौका प्रहार गरिन् । सेविका यादवले २० तथा एलिसा खड्काले १५ रन जोडे । गण्डकीकी सीमाना केसीले एक विकेट लिईन् ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन जोडेको थियो । गण्डकीकी ज्योत्स्निका मरासिनीले ३७ र सीमाना केसीले २१ रन बनाए । बागमतीकी विपिशा शाही र मनिषा उपाध्यायले एक-एक विकेट लिए ।
गण्डकीकी अलराउण्डर सीमाना केसी प्लेयर अफ दि टुर्नामेन्ट भईन् । सुदुरपश्चिमकी सावित्री धामी उत्कृष्ट ब्याटर तथा गण्डकीकी निरु जिटी प्रतियोगिताभर उत्कृष्ट बलर बनिन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा सम्पन्न प्रतियोगितामा सात प्रदेशका टोली सहभागी थिए ।
विजयी टोली बागमतीले १ लाख ७९ हजार ७०५ रुपैयाँसहित ट्रफी र उपविजेताले ९५ हजार ७०५ रुपैयाँसहित ट्रफी हात पारेको छ ।