भरतपुर, १८ माघ ।
युवा व्यवसायी तथा समाजसेवी जोन कँडेलले जन्मदिनका अवसरमा विभिन्न ठाउँमा सहयोग गरेका छन् । माघ १८ गते कँडेलको जन्मदिन थियो । उनलेे जन्मदिनमा मितव्ययी बन्दै अनावश्यक फजुल खर्च गरेनन् । यो विशेष अवसरमा राम्रा काम गरौं भनेर उनले विभिन्न ठाउँमा सहयोग उपलब्ध गराएका छन् ।
कँडेल व्यवसायी हुन् । भरतपुर महानगरपालिका वडा नम्बर-४ स्थित लंकू धारापानी चोकमा कँडेलले द ग्रिन पार्क रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । कँडेलले उक्त रेस्टुरेन्टबाट वर्षभरीमा ४ हजार ४४६ बोतल पानी बिक्री गरे । उक्त पानीबाट आएको मुनाफा १३ हजार ३३८ रुपैयाँ धारापानी संरक्षण तथा व्यवस्थापनका लागि उपलब्ध गराएको उनले बताए ।
त्यसैगरी रेस्टुरेन्टबाट वर्षभरीमा बिक्री भएको १६ हजार १६२ खिल्ली चुरोटको मुनाफा बापतको ३२ हजार ३२४ मध्ये २५ हजार १५५ रुपैयाँ श्री चन्द्रोदय मावि धादिङको लागि छात्रवृत्तिलाई उपलब्ध गराएका छन् भने ७ हजार १७९ रुपैयाँ एक जना क्यान्सर बिरामीको लागि खर्च गरिने उनले जानकारी दिए ।
त्यसैगरी कँडेल ब्रत पनि बस्दै आएका छन् । ब्रतका बेला बचत हुने अनुमानित रकम अनुसार जम्मा गरेको ५ हजार २०० रुपैयाँ बराबरको खाद्यान्न भरतपुर महानगरपालिका वडा नम्बर- ३ स्थित हाम्रोघरलाई उपलब्ध गराएका छन् । हाम्रोघरमा २९ जना सडक बालबालिका आश्रित छन् । जन्मदिनका अवसरमा सामाजिक एवम् परोपकारी कामलाई पहिल्यैदेखि निरन्तरता दिइरहेको कँडेलले बताए ।