मकवानपुर, १८ माघ ।
मकवानपुरका एक सञ्चारकर्मीले आफ्नो छोराको विवाह भोजको खर्च कटाएर हेटौँडास्थित त्रिवेणीधाममा गौतम बुद्धको अष्टधातुको मूर्ति स्थापना गरेका छन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ का पत्रकार प्रताप विष्टले आफ्ना छोरा डा. घोषणा विष्ट र बुहारी सुजता कार्कीको विवाह खर्च कटौती गरी करिब १२ लाख रुपैयाँमा बुद्ध मूर्ति निर्माण गराएका हुन् ।
५ फिट अग्लो २ सय ६० केजी तामा र पित्तल मिसिएको मूर्तिको शुक्रबार हेटौँडा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखले अनावरण गरेका थिए । यसअघि पनि विष्टले आफ्नो ज्येष्ठ छोराको विवाह खर्च कटौती गरी सामाजिक कार्यमा खर्च गरेका थिए । विष्टले २०७४ सालमा आफ्नो ज्येष्ठ छोराको विवाह खर्च कटाएर मानव सेवा आश्रमलाई ५ लाख ११ हजार १११ सय रुपैयाँ तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा एकलाख रुपैयाँ पुस्तकालय स्थापनाका लागि प्रदान गरेका थिए ।
अनावरण कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता देव श्रेष्ठले विष्ट दम्पतीको कदमलाई सराहनीय भन्दै यसले समाजका नेतृत्त्वकर्तालाई प्रेरणा दिने बताएका छन् ।