मकवानपुर, १८ माघ ।
बागमती प्रदेशसभा स्थापनाको छैटौँ वर्ष पूरा भएको अवसरमा बिहीबार एक समारोहका बीच प्रदेशसभा सचिवालय हेटौँडामा वार्षिकोत्सव मनाइएको छ ।
समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकार, प्रदेशसभा र स्थानीय तहले सौम्य, शान्त र सुरक्षित प्रदेश निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । प्रदेश प्रमुख शर्माले भने “आजको दिनदेखि हामीले उठाएका हरेक पाइलाले लक्षित गन्तव्य प्राप्त गरुन् । हामीले देखेका सपना साकार हुन् र बनाएका नीति, कार्यक्रम र योजनाले लक्ष्य भेट्न सकुन् भन्ने कामना गर्दछु ।”
मूल विधेयकका अतिरिक्त संशोधन विधेयक तथा आर्थिक विधेयक र विनियोजन विधेयक गरी जम्मा ७७ वटा विधेयक पारित भएकाे उनले जानकारी दिए । बागमती प्रदेशले आफ्ना आवश्यकता पहिचान गरी आवश्यक परे थप अन्य कानून निर्माणको प्रकृयालाई तीब्रता दिने छ र संसद पनि यस सन्दर्भमा पूर्ण क्रियाशील रहनेछ दृढ विश्वास लिएको प्रदेश प्रमुख शर्माले बताए ।
हाम्रा विकासको गति केही ढिला भएपनि गन्तव्य भने सुनिश्चित रहेको उनले बताए । लामो समयसम्म संसदीय समितिहरू बन्न नसक्नु, कार्यसम्पादनमा अवरोध तथा ढिलासुस्ती हुनु र जिम्मेवारी बोधको अभाव हुनु सुखद सङ्केत नभएको उनकाे भनाई रहेका थियाे ।
कार्यक्रममा प्रदेशसभाका सदस्य गिता गुरूङ, मधुसुदन पौडेल, माया श्रेष्ठ, रामप्रसाद ढुंगाना, लक्ष्मीदेवी श्रेष्ठ, प्रदेशसभाका कर्मचारीहरू कानून अधिकृत मनोजकुमार गुप्ता, कम्प्युटर अधिकृत रोशन प्रधान, कम्प्युटर अपरेटर सरिता घिमिरे र कार्यालय सहयोगी मिना ओझालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभाले हालसम्म बनाउनुपर्ने कानूनमध्ये ७८ वटा कानून पास भएको र पास भएका कानून मध्ये ४३ वटा ऐन रहेको जनाइएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको हालसम्म ३४ दिन प्रदेशसभा संचालन भएको र ५६ बैठक बसेको थियोे । यस वर्ष प्रदेशसभामा दर्ता भएका १२ विधेयकमध्ये ८ विधेयक पारित भइसकेको जानकारी दिइएको थियो । ती मध्ये एउटा विधेयक पुनर्विचारका लागि प्रदेश प्रमुखबाट प्रदेशसभामा फिर्ता पठाएका छन् । कार्यक्रममा प्रदेशसभाको मोबाइल एप शुभारम्भ एवं पुस्तक विमोचन गरिएको थियो ।
बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका कांग्रेसका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियालगायतले मन्तव्य व्यक्त गरेका थिए ।