भरतपुर, १८ माघ ।
साहित्यप्रेमी डिला खरेलले बुधबार नारायणगढमा कवितावाचन गरेका छन् । भरतपुर महानगरपालिका-५ घर भएका डिला पछिल्लोसमय अस्ट्रेलियामा बस्दै आएका छन् । छुट्टीमा घर आएका बखत औपचारिक कार्यक्रममाझ डिलाले आफूले सिर्जना गरेका कविता सुनाएका हुन् ।
सम्पूर्ण किताब नारायणगढले आयोजना गरेको `डिला खरेलको रचनावाचन´ कार्यक्रममा प्रस्तुत भएका उनले कविता सुनाउनु अगाडि आफू कविताको विद्यार्थी भएको बताए । `म कविताको विद्यार्थी हुँ, कविता लेख्न सिक्दैछु । अग्रजहरुका कवितालाई चाख मानेर पढ्ने गरेको छु । अग्रजहरुबाट प्रभावित भएर सिर्जना गर्न थालेको हुँ । यी मेरा प्रारम्भिक रचना हुन् ।´, कार्यक्रममा जम्मा भएका कविहरुको माझमा बसेका उनले बताए ।
डिलाले कार्यक्रमको सुरुवातमा `म देवकोटा नदेखेको मान्छे´ शीर्षकको कविता सुनाए । कवितासँगै उनले आफ्नो बाल्यकाल सम्झिए । विश्वप्रकाश माध्यमिक विद्यालयमा पढेको समय सम्झिए । सानोमा देवकोटालाई चाख मानेर पढ्ने गरेको पनि उनले बताए । डिलालाई स्कुलमा पढाएका शिक्षक उदय अधिकारी पनि डिलाका कविता सुन्न आएका थिए । डिलाले कविताकै लहरमा गुरु उदयलाई सम्मान गरे । `उदय सरले मलाई थप प्रेरणा दिनु भयो । पढ्नुपर्छ भनेर सधैं घचेटनु भयो । उहाँको प्रेरणाले आज यहाँ उभिएर यति बोल्न सक्ने भएको छु ।´ डिलाले अगाडि भने । उदय अधिकारीले पनि डिला विद्यालयसमयदेखि नै सिर्जनशील स्वभावको भएको बताए ।
डिलाले दोस्रो कविताको रूपमा `र देश छोडेँ´ शीर्षकको कविता सुनाए । आफू बिदेशीनुको कारण पनि उनले कवितामा उतारेका छन् । डिलाले त्यसपछि `समुन्द्रको दोष´ शीर्षकको कविता सुनाए । यो कवितामा प्रवासमा रहेका नेपालीका कथाव्यथा मिसिएका छन् । त्यसपछि उनले `साला चोरहरु´ शीर्षकको कविता सुनाए । यो कवितामा उनले नेपाली राजनीतिको चित्रण गरेका छन् ।
कार्यक्रममा प्राध्यापक एलबी क्षेत्रीले डिलामा काव्यिक र सामाजिक दुबै गुण भएको बताए । साहित्यलाई माया गर्ने उनले सामाजिक र परोपकारी काम गरेर आफ्नो अलग्गै पहिचान बनाएको बताए । कवि गोविन्दराज विनोदीले डिलाको सामाजिक सेवा सबैका लागि अनुकरणीय रहेको बताए । `विदेशमा बसेर पनि नेपाल र नेपालीका लागि चिन्तन र सहयोग गर्ने उनको स्वभावको सबैले प्रसंशा गर्नुपर्छ ।´, विनोदीले भने ।
डिला पेशाले प्राध्यापक हुन् । इन्नोभेटिभ एसोसिएट्सका प्रिन्सिपल उनी अस्ट्रेलियामा बसेर प्राध्यापन गरिरहेका छन् । ईनोभेटीभ एसोसिएट्सले लेखा, कर तथा वित्तीय सेवा प्रदान गर्ने गर्दछ । व्यक्तिगत, घर तथा साना व्यवसायका लागि कर्जा उपलब्ध गराउन सहजीकरण गर्नुका साथै बैंकिङ सेवासम्बन्धि परामर्श डिलाको संस्थाले दिने गर्दछ । यिनै कामका कारण अस्ट्रेलियाका नेपालीमाझ उनी लोकप्रिय छन् ।