देवघाटधाम, १७ माघ ।
राष्ट्रसन्त ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीजी महाराजको वार्षिक पुण्यतिथिको पूर्वसन्ध्यामा यही माघ १९ गते श्री परमानन्द संस्कृत छात्र कल्याण परिषद्द्वारा साहित्य सङ्गीत र कलाको त्रिवेणी परमानन्द-काव्य-सरिताको १५औँ शृङ्खला हुने भएको छ । हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको प्रमुख संरक्षकत्व एवम् प्राडा माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न हुन गइरहेको उक्त कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त थुप्रै स्रष्टाहरू, काव्य साधनामा तल्लीन गुरुकुलका छात्रहरू तथा साहित्यानुरागी महानुभावहरूको समेत सहभागिता रहनेछ ।
खासगरी छन्द कविता रुचाउने व्यक्तिहरूलाई उक्त कार्यक्रम निकै महत्त्वपूर्ण रहेको कुरा कार्यक्रमका संयोजक सोमनाथ अर्यालले बताए । सोही अवसरमा नाटककार गोविन्दगोपाल खतिवडाद्वारा लिखित तथा सुनील उपाध्यायद्वारा निर्देशित `जनावर सम्मेलन´ नामक नाटक पनि मञ्चन हुने संयोजक अर्यालले बताए ।
त्यसैगरी माघ २० गते माघ कृष्ण अष्टमीका दिन ब्रह्मलीन स्वामीज्यू महाराजको वार्षिक पुण्यतिथिमा बृहत् गुरु भण्डाराको आयोजना गरिएकाले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई आमन्त्रण गरिएको कुरा श्री हरिहर सन्यास आश्रमका सचिव मुक्तानन्द सरस्वती जी महाराजले बताए ।