भरतपुर, १२ माघ ।
भरतपुर महानगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य पटिहानीमा रक्तदान कार्यक्रम गरिएको छ । भरतपुर भ्रमण वर्षको पूर्वसन्ध्यामा चितवनमा हुँदै गएको रक्त अभावलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ कसरा पर्यटन व्यवसायी समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा पटिहानीको सहकार्यमा भरतपुर-२२ अम्ब्रेला स्ट्रीट परिसरमा गरिएको रक्तदान कार्यक्रममा १३ जना महिलासहित १०६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक छविराम पौडेलले जानकारी दिए ।
कसरा पर्यटन व्यवसायी समितिका अध्यक्ष एवम् नारायणी सफारी होटलका संचालक सन्जीवदास श्रेष्ठको अध्यक्षता र भरतपुर-२२ का वडा अध्यक्ष विष्णुराज महतोको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा भरतपुर- २३ का वडा अध्यक्ष दीपक दवाडी विशिष्ट अतिथि रहेका थिए । उक्त कार्यक्रममा पर्यटन व्यवसायी, विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो ।