गैंडाकोट, १७ माघ ।
बुधबार बिहान गैंडाकोटमा सवारी दुर्घटना हुँदा नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्वमन्त्री बलराम पौडेलको मृत्यु भएको छ ।
गैंडाकोटको कालीगण्डकी चोकमा बसले ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको मत्यु भएको हो ।
बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई कालीगण्डकीचोक नजिकै राजमार्गमा ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।
पौडेलको निधनपछि नेपाली कांग्रेस चितवनले बिज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेको छ । `उहाँको निधनबाट नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका साधक, एक असल अभिभावक गुमाएको छ । उहाँको निधनबाट सम्पूर्ण सामाजिक तथा राजनीतिक क्षेत्रमा अपूरणीय क्षती पुगेको छ ।´ बिज्ञप्तिमा भनिएको छ । नेपाली कांग्रेस चितवनले `समुदायमा कांग्रेस´ अन्तर्गत आज तय गरिएका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको जनाएको छ ।
भरतपुर महानगरपालिका-१७ निवासी पौडेल नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि थिए । नेपाली कांग्रेस चितवनका सल्लाहकार सदस्य उनी बागमती प्रदेश सरकारका पूर्व मन्त्री थिए ।