मकवानपुर, १६ माघ ।
दुधमा दिइएको अनुदान कटौती गरेपछि कृषकहरुले धर्ना सहित कृषि तथा पशुपंछी निर्देशनालय हेटौंडामा गरिएकाे तालावन्दी खुलेकाे छ । आन्दाेलनरत किसानसँग कृषि मन्त्रालयमा भएकाे छलफलबाट ३ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गर्दै ताला खुलेकाे हाे ।
उत्पादन आधारित दुधमा प्रति लिटर किसानले पाउने अनुदानमा बागमती प्रदेश सरकारले यस वर्ष कटौती गरेको बिरोधमा किसान उत्रेका थिए । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १ चाईनागेटस्थित कृषि तथा पशुपंछी निर्देशनालयमा किसानले मंगलबार धर्ना दिएका थिए ।
तालाबन्दी पछि केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद सापकाेटा, भगिरथ तिमल्सिना, मकवानपुरगढी गाउँपालिका निवर्तमान अध्यक्ष विदुर हुमागाईं, जिल्ला दुग्ध सहकारी संघ मकवानपुर अध्यक्ष, चितवनका अध्यक्षसहितले बागमति कृषि मन्त्रालयमा कृषि सचिवसँग छलफल गरेका थिए ।
मंगलवार भएकाे छलफलबाट उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रमकाे गत पुष १९ गतेकाे सूचना अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्ने, उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रममा थप बजेट माग गर्नको लागि आगामी माघ २३ गतेसम कृषि मन्त्रालयबाट प्रक्रिया अगाडि बढाईने र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडामा लागेको तालावन्दी खोल्ने निर्णय भएकाे हाे ।