काभ्रे, १५ माघ ।
अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षेत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ । अक्षरमार्गको एघारौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सर्जकहरुलाई सम्मान गरिएको हो ।
काभ्रेको पनौतीमा आयोजित सम्मान सर्मपण तथा पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई कृष्णसुन अक्षरमार्ग पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ । त्यस्तै विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कलाकार केके कर्माचार्यलाई सम्मान गरिएको छ ।
यस्तै वरिष्ठ कथाकार सनत रेग्मीलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मानबाट सम्मानित गरिएको छ । साथै गायत्री श्रेष्ठलाई अक्षरमार्ग नरबहादुर स्रष्टा सम्मान समर्पण गरिएको छ । साहित्यकार तथा भाषिक अभियन्ता श्रीकृष्ण महर्जनलाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट सम्मानित गरियो भने दार्जिलिङ निवासी साहित्यकार सुभद्रा बम्जनलाई ध्रुवमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानद्धारा सम्मानित गरिएको छ ।
यस्तै अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट साहित्यकार डा गोपाल पौड्याल मण्डने सम्मानित भए । उनलाई कार्यक्रमका विशिष्ट अतिथिद्वय वरिष्ठ साहित्यकार तथा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीॐ श्रेष्ठ रोदनले सम्मान अर्पण गरे । त्यस्तै प्रह्लाद केसी, ध्रुवनारायण जोन्छे, राजेश श्रेष्ठ ध्रुवकृष्ण ताम्राकारबाट सम्मानित सर्जकहरुलाई माला, टीका, मायाको चिनो तथा नगद प्रदान भएको थियो । अक्षरमार्गले हरेक वर्ष वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, साहित्यकार श्रीॐ श्रेष्ठ रोदन, मोहन दुवाल , पवन आलोक, सूर्य लाकोजू , विजय कर्माचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा साहित्यकार सूर्य लाकोजूद्वारा लिखित `सिर्जना लेखन कला´ र `अक्षरका स्वरूप´ नामक दुई कृतिको लोकार्पण पनि गरिएको थियो ।