भरतपुर, १४ माघ ।
पार्टी सुदृढीकरणको अभियान सुरु हुँदा चितवन काँग्रेसमा विवाद देखिएको छ । पार्टीको गतिविधि एकलौटी ढंगबाट चलाएको भन्दै सुरु भएको विवाद बाहिर आएको छ ।
महाधिवेशन प्रतिनिधि मिलनबाबु श्रेष्ठले पार्टी संचालनमा सभापति राजेश्वर खनालको कार्यशैलीप्रति आपत्ति जनाउँदै पार्टीभित्र मनोमानी गरेको आरोपसहित विरोध गरेका छन् । श्रेष्ठले सभापतिको कार्यशैलीको कडा आलोचना गर्दै सभापति खनालले पार्टी कमजोर बनाएको आरोप लगाएका छन् ।
श्रेष्ठ १४ औं महाधिवेशनमा जिल्ला सभापति पदका उम्मेदवार थिए । सभापतिका उम्मेदवारमध्ये पहिलो चरणमा उनले सबैभन्दा धेरै मत ल्याएका थिए । पहिलो चरणमा कसैको बहुमत नआएपछि दोस्रो चरणमा नगई कार्यकर्ताको आग्रहमा सहमति र एकताको लागि उनले खनाललाई समर्थन गरेका थिए । अहिले खनालले सहमति लत्याएर मनोमानी तवरबाट अघि बढेको भन्दै विरोध गरेका हुन् । त्यसबेला पूर्वमन्त्री उमेश श्रेष्ठ, तत्कालीन सभापति जितनारायण श्रेष्ठ र क्षेत्र नम्बर एकका सभापति किरणभूषण सिंह ओलीसहित सहमति भएको थियो ।
आइतबार विज्ञप्ति निकालेर श्रेष्ठले खनालमाथि थुप्रै आरोप लगाएका छन् । संघ र प्रदेशको निर्वाचनमा पार्टीकै उम्मेदवारलाई असहयोग गरेको एवं जिल्ला समितिमा मनोनयन र समिति बनाउँदा एकलौटी गरेको आरोप खनालमाथि छ । स्ववियु निर्वाचनमा पार्टीको भूमिका निष्क्रिय बनाएको आरोप पनि छ । केन्द्रले आयोजना गरेको कार्यक्रममा आफूखुसी प्रतिनिधि पठाएको, स्थानीय निर्वाचनमा पदीय आडमा आफ्नालाई उम्मेदवार बनाएको, सहमतीय राजनैतिक संस्कारलाई उल्लंघन गरेर एकलौटी ढंगबाट पार्टी चलाएर धरासायी बनाएको आरोप छ ।
यसअघि पनि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदा बेवास्ता गरिएको भन्दै यसबाट पार्टीमा भएको क्षतिको मुख्य जिम्मेवार सभापति खनाल रहेको श्रेष्ठले बताएका छन् । श्रेष्ठले जिल्ला सभापतिको कामप्रति असहमति जनाउँदै आफू चितवन काँग्रेसको सुदृढीकरणमा लागेको जनाएका छन् । उनले सभापति खनालको कार्यशैली तानाशाह प्रवृत्तिको भएकोले त्यसविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।