भरतपुर, १४ माघ ।
सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुने भएको छ । क्याराभान नेपालको आयोजनामा रत्ननगर नगरपालिका– ७ स्थित चित्रसारी खेलमैदानमा यही माघ १८ गतेदेखि महोत्सव सुरु हुन लागेको हो ।
नेपाली चलचित्रको विकास र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सवको आयोजना गरिएको शनिबार पत्रकार सम्मेलन गरेर क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले जानकारी दिए । उनले भने, ‘नेपाली चलचित्र र चलचित्रका माध्यमबाट चितवनसहित नेपालको पर्यटन विकासमा सहयोग पुर्याउन अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गरिएको छ ।’
महोत्सवमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी एक सयभन्दा बढी स्टल रहने जनाइएको छ । महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने, एक करोड ५० लाखको कारोबार हुने अनुमान र अपेक्षा गरिएको छ ।