गैँडाकोट, १३ माघ ।
त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासीले शनिवार गैंडाकोटमा रहेको आफ्नै भवनमा चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ ।
सभाले इन्द्रराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोधरुपमा उपाध्यक्ष भीमप्रसाद शर्मा, सचिव रामहरि शर्मा शराह, सह-सचिव भूमिश्वर शर्मा, कोषाध्यक्ष मुक्तिनाथ न्यौपाने चयन भएका छन् । त्यस्तै सदस्यहरुमा धर्मानन्द शर्मा, मुना धनञ्जय, उदयनाथ रेग्मी, राधा कोइराला, सुजन अधिकारी, लीला मास्कि राना, शोभा खनाल कोइराला र भूमिका तिमिल्सिनालाई उक्त सभाले चयन गरेको हो ।
सभाले प्रतिष्ठाको लेखा सुपरीवेक्षण समिति संयोजक विष्णुमाया पन्थी साथै सदस्यमा मीनाकुमारी खनाल र भानुभक्त सापकोटालाई चयन गरेको छ ।
निर्वाचन संयोजक गोविन्दराज विनोदी, गोविन्द रिमाल र कृष्णचन्द्र चालिसेसमेत रहेको निर्वाचन समितिले माघ १५ गते साँझ ४ बजे आफ्नै भवनमा पदस्थापना र सपथग्रहण हुने जानकारी गराएको छ ।
अधिवेशनअघि प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद खनालको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले त्रिवेणी साहित्य प्रतिष्ठानमार्फत कला र साहित्यको विकास गर्नेतर्फ नगर गम्भीर भएको बताउँदै कला, साहित्य, संगीत र सामाजिक इतिहास बोकेका साहित्यिक प्रतिष्ठानलाई नगरपालिकाले उच्च सम्मानका साथ अघि बढाउन सहयोग गर्ने बताए । सभामा नगर उपप्रमुख शान्ति कोइराला, साहित्यकार चूडामणि बन्धु, चितवन साहित्य परिषदका अध्यक्ष केदारनाथ खनाल, नेपाल स्वतन्त्र पत्रकार संघका संस्थापक अध्यक्ष तथा आदर्श समाजका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला, साहित्यकार श्यामजी अतिथि, डा. होमराज सापकोटा, डा. फणीन्द्र देवकोटा, होमनाथ सापकोटा, शरदचन्द्र पण्डितलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
चौथो साधारणसभा तथा अधिवेशनमा उपस्थित सम्पूर्णलाई प्रतिष्ठानका कोषाध्यक्ष इन्द्रराज पौडेलले स्वागत मन्तव्य राखेका थिए । प्रतिष्ठान स्थापनाको ३४ औँ वर्षमा आइपुग्दा हालसम्म साहित्यका भिन्नभिन्न बिधाका १४४ कृति प्रकाशन गरेको त्रिवेणी साहित्य प्रतिष्ठानमा कुल १७२ आजीवन सदस्य रहेका छन् ।
त्रिवेणी साहित्य प्रतिष्ठानले स्थापनाको ३४ औँ वसन्तसम्म आइपुग्दा १४४ कृतिहरु प्रकाशन गरेको छ । ३३ वर्ष अघि २०४७ सालमा स्थापना गरिएको ‘त्रिवेणी साहित्य परिषद्’ नामक संस्था २०७७ सालदेखि भने ‘त्रिवेणी साहित्य प्रतिष्ठान’ का रुपमा रहेको छ । आगामी वर्ष पनि कम्तिमा विभिन्न बिधाका २० वटा थप पुस्तक प्रकाशन गर्ने, घुम्ती साहित्यका कार्यक्रम, कला र संगीत क्षेत्रका सिर्जनात्मक क्रियाकलापहरुलाई निरन्तरता दिँदै अघि बढाउने प्रतिबद्धता राख्दै नवनिर्वाचित अध्यक्ष इन्द्रराज पौडेलले आगामी कार्यसमिति साहित्य र सामाजिक क्षेत्रमा नवीनतम काम गर्न लागिपर्ने बताए । गत आर्थिक वर्षमा २४ लाख ३० हजार रुपैयाँ आम्दानी विवरण रहेको प्रतिवेदन कोषाध्यक्ष धर्मानन्द शर्मा पौडेलले सभामा पेश गरे । प्रतिष्ठानका सचिव भीमप्रसाद शर्माले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।