माडी, १३ माघ ।
के के हुँदो रहेछ जिन्दगीको राज पनि
मायामा डुबेर मर्यो पौडीबाज पनि
तिम्रो सिउँदोले तिम्रो केश मात्रै आधा बनाएन
आधा आधा बनायो समाज पनि
एउटा त्रिपाल दिएको बदलामा
छाना उडाउन खोज्छ सरकार पनि
अरुको गहना देखेर लाज लाग्यो भन्छौ
आफैमा गहना होइन र लाज पनि ।।
लोकप्रिय गजलकार प्रदीप रोदनले शनिबार माडीमा आएर गजल सुनाएका छन् । श्री दिवाकर स्मृति माध्यमिक विद्यालय माडीको ५२ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवसका अवसरमा आयोजना गरिएको साहित्यिक गोष्ठीमा प्रमुख अतिथिका रूपमा गजलकार रोदनलाई निम्त्याइएको हो । कार्यक्रममा रोदनले आफ्ना चर्चित गजलहरू सुनाएका थिए । उनले विद्यार्थीलाई हरेक कुरामा मेहनत गर्न आग्रह गर्दै आफूसँग जे प्रतिभा छ, त्यो नै सर्वोत्तम भएकोले त्यसैमा गर्व गर्न आग्रह गरे ।
वार्षिकोत्सव कार्यक्रम अन्तर्गत साहित्यिक गोष्ठीको सुरुवातमा विद्यार्थीहरूले रचना वाचन गरेका थिए । दिवाकर माविसँगै माडी क्षेत्रका अन्य विद्यालयका विद्यार्थीहरुले पनि रचना वाचन गरेका थिए । कार्यक्रममा विपिन पाठक, राजु आचार्य दीप, प्रदीप सन्नाटा, अनाम किरण, रविन बस्ताकोटी, केवराज थापा, सुनिल मरहट्टा, डिल्लीराम बराल, सुनिल महतोलगायतले रचना वाचन गरेका थिए ।
विद्यालयका शिक्षक विकास बरालको अध्यक्षतामा गरिएको कार्यक्रमलाई शिक्षक भुपराज पाठकले सहजीकरण गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रसुन श्रेष्ठले गजलकार रोदनलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए ।