मकवानपुर, १३ माघ ।
साहित्य सङ्गम मकवानपुरको ३ सय ३९ औँ साहित्य सन्ध्यामा साहित्यकार खेम बानियाँलाई सम्झिएकाे छ । मकवानपुरकाे दिवंगत साहित्यकार बानियाँ स्मृति विशेषमा साहित्य सर्जकहरुकाे रचना वाचनका साथै साहित्य र जीवन विषयक अन्तरसम्वाद समेत आयाेजना गरिएकाे थियाे ।
साहित्य सङ्गमका पूर्व कार्यसमिति सदस्य बानियाँको स्मृति कार्यक्रम गर्दै सुरु गरिएकाे सन्ध्यामा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मकवानपुरमा सुत्र भित्र्याउने बाँनिया भएकाे बताए । पत्रकारिता, खेलकुद, लेखन, राजनीति बहुविधामा बानियाँ सक्रिय रहेको बताउँदै उनले मकवानपुरका पहिलो गजल सर्जकका रूपमा समेत बानियाँ रहेकाे बताए ।
शनिबारकाे नियमित सन्ध्यामा बाल साहित्यकार अनुषुया खनाल, किशन पौडेल (लघुकथा), एस के निधन (सूत्रकथा ), स्वस्तिका बानियाँ, हरि पौड्याल, केशव समर्पण र जुम्लेली स्रष्ट्रा राजबहादुर बुढाले गजल सुनाएका थिए । यसैगरी स्वस्तिका दाहाल, राजकुमार चौधरी, रामहरि चौलागाईं, बैकुण्ठ लामिछाने, सुवास सजल, राजकुमार लामिछाने, छवि अनित्य, मसान उपासकलगायतले कविता वाचन गरेका थिए ।
सन्ध्याकाे अर्काे सत्रमा साहित्य र जीवन विषयक अन्तर सम्वादमा साहित्यसेवी मुक्तिगोविन्द वैद्य र उमा मैनालीको सहभागिता रहेको थियो । सङ्गमका उपाध्यक्ष सानु खनालले सहजीकरण गरेको बहसमा वैद्यले गजल मञ्च मकवानपुरद्वारा हरेक महिना हुने गजल वाचन कार्यक्रममा गजलश्री घोषणा हुने कार्यक्रम नै पहिलोपटक आफूले सुनेको साहित्यिक कार्यक्रम भएको बताए । मकवानपुरका विभिन्न साहित्यिक संघसंस्थालगायत नवसर्जक साहित्य चौतारीसम्म सहयाेग गर्दै जेसीस कर्ममा रहँदा मलंगवामा विद्यालय सञ्चालनसम्मका कार्यमा जोडिन पाएकोमा जीवन सफल भएको बताए ।
अन्तरसम्वादमा मैनालीले ध्रुवचन्द्र गौतमको अलिखितदेखि नयनराज पाण्डेको लूसम्म र डा. नवराज केसीको शुन्यको मूल्यसम्म आइपुग्दा आफूले विभिन्न कालखण्डका अनेकन समाज पढ्न पाएको बताइन् । पहिले काठमाडाैँबाट पुस्तक मगाएर पढ्नुपर्ने बाध्यता रहेकोमा अहिले प्रकाशन हुने वित्तिकै हेटौंडामै पुस्तक उपलब्ध हुने हुँदा साहित्यमा रुची राख्ने र पठन संस्कृतिमा रमाउने पाठकलाई सहज भएको उनलेे बताइन् । नवपुस्तालाई अध्ययनको दायरा फराकिलो पार्दै नेपालीसहित विभिन्न भाषाका पुस्तक अध्ययन गर्दै आफूमा निखारपन ल्याउन समेत उनीहरुले आग्रह गरे ।
कार्यक्रममा सङ्गमद्वारा संचालित पुष्पलाल स्मृति पुस्तकालयलाई साहित्यकार रमेशमाेहन अधिकारीले विभिन्न लेखकका पुस्तक समेत हस्तान्तरण गरेका थिए । वैद्य र मैनालीसहित ऋषिराम पोखरेललगायतलाई मायाको चिनो प्रदान गरिएको थियाे । सङ्गम अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएकाे कार्यक्रममा सन्ध्यामा शैक्षिक व्यक्तित्व ऋषिराम पोख्रेल, ह्याग्रिव आचार्य, देबराज आचार्य, शान्ती प्रियवन्दनालगायतकाे उपस्थिति रहेकाे थियाे ।