भरतपुर, १३ माघ ।
विगत चार दशकअघि पूर्वी नेपालको सुनसरीबाट चितवन आई समाजसेवामा संलग्न समाजसेवी निला पालिखेको ६१ वर्षको अल्पायुमा निधन भएको छ । उनी पुर्बेली समाज चितवनको संस्थापक तथा वर्तमान उपाध्यक्ष, नेवा समाज चितवनको उपाध्यक्ष तथा विभिन्न सङ्घसङ्स्थामा आबद्ध भएर समाजसेवामा सक्रिय रहँदै आएकी थिइन् ।
भरतपुर ९ हितैषी टोल निवासी दुई छोरी, एक छोराकी ममतामयी माता पालिखेको अकल्पनीय निधनले घरपरिवार मात्रै नभएर भरतपुर महानगरले नै एक असल आदर्श, समाजसेवी गुमाएको अनुभूति भरतपुरवासीले गरिरहेको पुर्बेली समाज चितवनका सचिव पदम अर्यालले बताए ।
विगत दुई वर्षअघिदेखि नै भारतको नयाँदिल्लीमा क्यान्सर रोगको उपचार हुँदै आएकी पालिखेको फलोअपको क्रममा गत माघ ९ गते काठमाडौंको ॐ हस्पिटलमा निधन भएको हो । पालिखेलाई माघ ११ गते देवघाटमा अन्त्येष्टि गरिएको पुर्बेली समाज चितवनका सचिव अर्यालले जानकारी दिए ।