मकवानपुर, १३ माघ ।
विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा जिल्लाभरिका विज्ञान शिक्षकहरूलाई कक्षा १ देखि १० को विज्ञान विषयको विशिष्टिकरण तालिका तथा मूल्याङ्कनका विषयमा एक दिने अभिमुखिकरण तालिम शुक्रबार सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ । तालिममा विज्ञान शिक्षक समाजका अध्यक्ष खेमराज लामिछानेले कक्षा एकदेखि तीनको मूल्याङ्कन प्रक्रिया र विज्ञान शिक्षक समाजका सचिव सुवास खनालले कक्षा चारदेखि दशसम्मको मूल्याङ्कन तथा विशिष्टीकरण तालिकासम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति प्रमुख सानुकाजी लुइँटेल प्रमुख अतिथि थिए भने विशिष्ट अतिथिको रुपमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतम रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुइँटेलले विज्ञान शिक्षकले समाजको अँध्यारोलाई चिर्न र रुढीवाद हटाउन चेतना बाँढ्नसक्ने हुनुपर्ने बताए । कार्यक्रममा पत्रकार तथा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले शिक्षकले चाहेमा समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताए । कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका प्राचार्य मोहनप्रसाद शर्मा र पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईँको पनि आतिथ्यता रहेको थियो । साथै उद्घाटन सत्रको सहजीकरण विज्ञान शिक्षक समाजका जीवन तिमल्सिनाले गरेका थिए भने स्वागत मन्तव्य विज्ञान शिक्षक समाजका उपाध्यक्ष भरत पोख्रेलले राखेका थिए ।
दुई सत्रमा सञ्चालित अभिमुखीकरण कार्यक्रममा जिल्लाका दशवटै स्थानीय निकायका त्रिसठ्ठी जना शिक्षकले सहभागिता जनाएका थिए भने समापन समारोहमा सहभागी तथा प्रशिक्षकलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिले प्रमाणपत्र वितरण गरेका थिए । साथै कार्यक्रममा सहभागीका तर्फबाट नवोदय शिशु सदनकी अनुष्का श्रेष्ठ र विज्ञान शिक्षक रामकुमार ठाकुरले मन्तव्य राखेका थिए ।