भरतपुर, १२ माघ ।
भरतपुर निवासी रामकृष्ण अनायास र मुना घिमिरेले जन्मदिनको अवसर पारेर भरतपुर- ५ स्थित कैलाशनगर मावि र राष्ट्रिय मावि तोरीखेतका विद्यार्थीलाई बालपत्रिका मुना साथै मधुपर्क र युवामञ्च उपलब्ध गराएका छन् । शुक्रबार दुबै विद्यालयमा छुट्टाछुट्टै गरिएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार एलबी क्षेत्री उपस्थित थिए । क्षेत्रीले पठन संस्कारको विकासमा यस्ता खाले कार्यक्रमले सहयोग गर्ने बताए । `विद्यार्थीमा विद्यालय तहदेखि नै पढ्ने बानी बसाउन सकियो भने उनीहरू अध्ययनशील र सिर्जनशील बन्छन्´, क्षेत्रीले भने – `रामकृष्ण भाइ र मुना बैनीले जन्मदिनमा उज्यालो बाँढ्ने काम गर्नुभएको छ, यो अभियानको सिको सबैले गर्नुपर्छ ।´
जन्मदिनमा केक काटेर, पार्टी दिएर गरिने खर्चलाई कटौती गरी विद्यार्थीलाई ज्ञान बाँढ्ने अभियानमा सहभागी हुन पाउँदा मुना घिमिरे र रामकृष्ण अनायासले खुसी लागेको बताए । सोही कार्यक्रममा शिक्षकका लागि `शिक्षक´ मासिक पत्रिकाका सेट पनि उपलब्ध गराइएको थियो । कैलाशनगर माविका प्रधानाध्यापक हीरामणि सापकोटा र राष्ट्रिय मावि तोरीखेतका प्रधानाध्यापक करुणा पण्डितले मुना र रामकृष्णलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै पत्रिका वितरणका लागि आफ्नो विद्यालय छनोट गरेकोमा धन्यवाद दिएका थिए ।
भरतपुर महानगरपालिकाले नगरभित्रका विद्यालयमा हरेक शुक्रबार व्यवहारिक शुक्रबार अन्तर्गत अतिरिक्त पुस्तक पढ्ने र विमर्श गर्ने, खेलकुद, वृक्षरोपण, पाक शिक्षा, सरसफाइलगायतका व्यवहारिक कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने गरेको छ । सोही कार्यक्रममा सहभागी भएका लेखराम सापकोटाले विद्यार्थीलाई अतिरिक्त किताब पढ्न दिँदा उनीहरूमा व्यक्तित्व विकास हुने र जुनसुकै काम गर्न पनि उनीहरू अग्रसर हुने तर्क राखे ।