भरतपुर, ११ माघ ।
चितवन जिल्लामा वचत तथा ऋण सहकारी संस्थातर्फबाट सुशासनमा लगातार प्रथम, द्वितीय र तृतीय श्रेणी हासिल गरेको संस्था नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक क्यालेण्डरको पूर्वयोजना अनुसार माघ महिनाको आफ्नो कार्यक्रम सार्वजनिक गरेको छ ।जसमा १५औं वार्षिक साधारणसभापछि संस्थामा बनेका सदस्यहरूलाई सहकारी शिक्षा दिने र सदस्य अभिमुखीकरण गर्ने भएको छ । संस्थाले नयाँ शेयर सदस्यलाई वित्तीय साक्षरता सम्बन्धि ज्ञान प्रदान गर्न माघ १३ गते गर्न लागिएको कार्यक्रममा सहभागिताको लागि आह्वानसमेत गरेको छ ।
त्यसैगरी संस्थाले विद्यालयमा नवदुर्गा भवानी वित्तीय साक्षरता कार्यक्रम आयोजनाको तयारी गरेको संस्थाका सचिव रामकृष्ण पौडेलले जानकारी दिए । कार्यक्रमको उद्देश्य पढ्दै गरेका बालबालिकाको आर्थिक समुन्नतिका लागि आफूसँग भएको थोरै रकम बचत गर्दै जाँदा भविष्यमा आईपर्ने आर्थिक संकटलाई न्युनीकरण गर्ने रहेको पौडेलले बताए । `बालबालिकाको भविष्यलाई आर्थिक रुपमा सुरक्षित कसरी बनाउन सकिन्छ, यसमा सहकारीको भुमिका के रहन्छ र बालबालिकाको भविष्यको रेखा कोर्न सहकारी पनि एक महत्वपूर्ण संस्था हो भन्ने कुराको ज्ञान दिने उद्देश्य कार्यक्रमको रहेको छ´ सचिव पौडेलले भने ।
तेस्रो कार्यक्रम अन्तर्गत सदस्यलाई अझै थप सेवा दिने कार्यक्रम संस्थाले ल्याएको छ । सदस्यका लागि लगानी गरिरहेको नवदुर्गाले समुदायस्तरमा यो क्षेत्रकै उत्कृष्ट सेवा दिन सफल भएको दाबी गरेको छ । `यो सफलता शेयर सदस्यकै विश्वासका कारण मिलेको हो । अझै थप सेवा र लगानी संस्थाले गरिरहेको छ ।´, संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । शेयर सदस्यको गुनासो संकलन गर्ने उद्येश्यका साथ घरदैलो सहकारी शिक्षा तथा सदस्य भेटघाट कार्यक्रम पनि गर्न लागिएको अध्यक्ष सापकोटाले बताए । यो कार्यक्रम यहि माघ १५ गते गरिने यसलाई हरेक महिना नियमितरूपमा गर्ने लक्ष्य राखिएको उनले बताए ।