भरतपुर, ११ माघ ।
चितवनबाट प्रकाशित हुँदै आएको अनुसन्धानमूलक साहित्यिक–साँस्कृतिक त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’ले सहिद दिवसको अवसरमा दिँदै आएको ‘दशरथ चन्द स्मृति पुरस्कार’ यसपटक काभ्रे, बनेपाका मोहन दुवालले पाउने भएका छन् । दुवाल जनमत मासिक साहित्यिक पत्रिकाका प्रधानसम्पादक हुन् ।
सहिद दिवसका दिन मंगलबार भरतपुरमा हुने कार्यक्रममा दुवाललाई सो पुरस्कार अपर्ण गरिने छ । पुरस्कारको राशी नगद १५ हजार रुपैयाँ रहेको छ ।
‘हाम्रो सिर्जना’ पत्रिकाका प्रकाशक डिआर पोखरेलका अनुसार यो पुरस्कारका लागि वरिष्ठ साहित्यकार प्रध्यापक आनन्ददेव भट्ट र सुशीला भट्टले अक्षयकोष स्थापना गरेका हुन् । सहिदको बलिदानी भावानाहरु प्रति उच्च सम्मान प्रकट गर्नका लागि यो पुरस्कार स्थापना भएको पोखरेलले बताए । विस २०७० सालदेखि सहिद दिवसको दिन पारेर पुरस्कार दिइँदै आएको उनले जानकारी दिए ।
दुवालले सहिद शुक्रराज शास्त्रीको चिन्तनप्रधान कृति ‘स्वर्गको दरबार’लाई जनमतमा धाराबाहिक रुपमा प्रकाशित गरेका थिए । विस १९८६ सालमा प्रकाशित भएको शास्त्रीको उक्त कृति चर्चाभन्दा बाहिर रहेर सवैले भुल्दै गएको अवस्थामा दुवालले ‘जनमत’को ११७ देखि १३७ अंकसम्म प्रकाशित गरेका थिए । त्यसैगरी विस २०६६ सालमा सो कृतिलाई पुनः पुस्तकको रुपमा प्रकाशित गरेको पोखरेलले बताए ।
सहिदको महत्वपूर्ण कृतिलाई जोगाउने काममा यो महत्वपुर्ण योगदान भएका कारणले दुवालाई पुरस्कृत गर्ने निर्णय भएको पोखरेलले बताए । जिल्ला समन्वय समितिको सभाहलमा हुने कार्यक्रममा दुवाललाई पुरस्कार अपर्ण गरिने उनले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी रहने छन् ।
उक्त कार्यक्रममा पुरस्कार अर्पणका साथै सम्मानका अन्य कार्यक्रमहरु पनि हुने छन् । भारत रामनगरमा रहेका नेपालीभाषी समाजसेवी रञ्जन उपाध्याय, शर्माका जिजुवुवा देवीप्रसाद उपाध्यायले लेखेको भारतीय उपन्यास ‘सुन्दर सरोजनी’लाई नेपाली भाषामा उल्था गर्ने चितवनका साहित्यकार प्राडा नारायणप्रसाद खनाललगायतलाई सो अवसरमा सम्मान गर्ने कार्यक्रम रहेको हाम्रो सिर्जनका प्रकाशक डिआर पोखरेलले जानकारी दिए ।