मकवानपुर, ११ माघ ।
राष्ट्रिय सभा निर्वाचन अन्तरगत बागमती प्रदेशबाट सत्ता गठबन्धका चारै जना उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट महिला कोटामा विष्णुकुमारी पुडासैनी, अल्पसंख्यक र अपाङ्गता कोटामा श्रीकृष्ण अधिकारी, दलितकोटामा धनश्याम रिजाल विश्वकर्मा र अन्य कोटामा जीतजंग बस्नेत निर्वाचित भएका छन् ।
प्रदेशमा अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लस्टर) का चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचन भएकोमा अल्पसंख्यक र अपाङ्गताकोटातर्फ नेकपा माओवादीका अधिकारी, महिलाकोटातर्फ नेपाली कांग्रेसकी पुडासैनी, दलितबाट नेकपा एकिकृत समाजवादीका विश्वकर्मा र अन्यबाट नेपाली काँग्रेसका बस्नेत निर्वाचित भएका हुन् ।
अल्पसंख्यक र अपाङ्गता कोटाबाट अधिकारीले ६ हजार ४ सय ३६ मतभार, महिला कोटाबाट पुडासैनीले ६ हजार ६ सय २२ मतभार दलितकोटामा विश्वकर्माले ६ हजार ५ सय १२ मतभार अन्यकोटाबाट वस्नेतले ६ हजार ५ सय ३१ मतभार प्राप्त गरी विजयी भएका हुन् ।
राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने ४ जना सदस्यको पद फागुन २० गतेबाट रिक्त हुँदैछ । राष्ट्रिय सभा सदस्य रहेका बागमती प्रदेशबाट एमालेका दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र खिमलाल देवकोटाको पद रिक्त हुँदैछ ।