भरतपुर, ११ माघ ।
भरतपुरका एक दम्पतीले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २ निवासी खिमानन्द पौडेल र उनकी श्रीमती कौसल्याले आफ्नो चौरासी वर्ष लागेको अवसरमा तीन लाख ६५ हजार रुपैयाँ केन्द्रलाई सहयोग गरेका हुन् ।
भरतपुरमा आयोजित एक कार्यक्रममाझ परिवार तथा आफन्तहरूको रोहवरमा राष्ट्रिय वाणिज्य बैङ्कको चेक राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक समितिका सदस्य एवम् लेखा अधिकृत हरि सिलवाललाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा दाता पौडेलका छोरी ज्वाइँ प्रेम रिमालले धर्मसंस्कृति पच्छाउने नाममा अहिलेको अग्रगामी परिवर्तनलाई अँगाल्न आफूहरूले चौरासी पूजाको खर्च कटौती गरेर दान गरेको बताए ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवम् संविधानसभा सदस्य विक्रम पाण्डेले धर्म संस्कृतिको संरक्षण गर्दै लैजानुपर्नेमा जोड दिए । `हामीले हाम्रा धर्म संस्कृति छाड्दै गयौँ भने हाम्रा मौलिकता हराउँदै जानेछन् भन्नेतर्फ पनि ध्यान दिनुपर्छ´, उनले भने । `पुराना चिज सबै नराम्रा छैनन्, पुराना फाल्ने होडबाजीमा परम्परा, रीतिरिवाज बिर्सनु राम्रो होइन, आफ्नो धर्म बिर्सेर बिदेशी धर्मको स्तुति गाउनु राम्रो होइन´, पाण्डेले भने ।
कार्यक्रमका वक्ताहरूले चौरासी वर्ष पूरा गरेका खिमानन्द र उनकी श्रीमती कौसल्याको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेका छन् । दाता दम्पतीलाई सम्मान गरिएको सो कार्यक्रम छोरा सुदर्शन पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।