मकवानपुर, १० माघ ।
माघ ११ गते विहीबार हुने राष्ट्रिय सभा निर्वाचन अन्तरगत हेटौंडामा हुने मतदानकाे तयारी पूरा भएकाे छ । आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० जना सदस्यकाे पदावधी सकिँदैछ । बागमतीबाट रिक्त हुने ४ पदकाे लागि मतदान हुने छ । ७ वटै प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने पद रिक्त हुने भए पछि माघ ११ गते सवै प्रदेशमा निर्वाचन हुनेछ ।
प्रदेशकाे राजधानी रहेकाे शहरमा ७ वटा मतदान स्थलका १४ मतदान केन्द्रमा मतदानकाे तयारी पुरा भएकाे निर्वाचन आयोगले जनाएकाे छ । बागमती प्रदेशमा हुने निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा १ मतदान स्थल र २ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
बागमती प्रदेशका लागि निर्वाचन आयोगबाट कुल ४ सय ३० वटा मतपत्र प्राप्त भएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि बागमती प्रदेशमा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि २ सय ९० र प्रदेशसभा सदस्यका लागि १ सय ४० वटा मतपत्र प्राप्त भएको छ ।
आयोगले निर्वाचनमा लागि २ वटा फरक मतपत्रको व्यवस्था गरे अनुसार प्रदेशसभा सदस्यहरूका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ । यस्तै पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।
निर्वाचनकाे अन्य तयारी प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाले पुरा गरेकाे निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले जानकारी दिए । एउटा मतदान केन्द्रमा मतदान अधिकृतसहित १० जना कर्मचारी रहने गरी निर्वाचन अधिकृतको कार्यालयले व्यवस्था मिलाएको उनले बताए ।
राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेश सभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहेका छन् । प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षकाे लागि मतदान गर्न छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको आचार्यले बताए ।
बागमती प्रदेशबाट अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लस्टर) का चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य रहेका बागमती प्रदेश तर्फका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुँदैछ। जस अनुसार निर्वाचनमा महिला, अपांगता/अल्पसंख्यक, दलित र अन्य समूहका १/१ सिटका लागि प्रतिस्पर्धा हुनेछ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट मतदान गर्ने मतदाता ३ सय ४७ जना रहेका छन् । तीमध्ये १ सय १० जना प्रदेश सभा सदस्य र ११९ स्थानीय तहका प्रतिनिधि छन् । स्थानीय तहका मतदाता २ सय ३८ रहेकाेमा दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षको पद रिक्त हुँदा स्थानीय तहबाट २ सय ३७ मतदाता मात्र कायम भएको छ । प्रदेशमा प्रदेश सभातर्फकाे ५ हजार ८ सय ३० र स्थानीय तहको ४ हजार ५ सय ३ मतभार गरेर कुल मतभार १० हजार ३ सय ३३ कायम रहेकाे छ ।
बागमती प्रदेशमा ४ जना सदस्यका लागि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको ४/४, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३, नेपाली कांग्रेसको २, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले १/१ जना गरी १५ जनाकाे उम्मेदवारी छ ।
सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी, माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट धनश्याम रिजाल विश्वकर्माले उम्मेदवारी दिएका छन् । ६ वटा राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका १५ जना मध्ये सत्तागठबन्धनका ४ जनाकाे जित सुनिश्चित देखिन्छ । बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन छ ।
निर्वाचन आयोगले प्रदेश सभा सांसदको ५३ मतभार र स्थानीय तहका जनप्रतिनिधिको १९ मतभार कायम गरेको छ । स्थानीय तहतर्फका २ सय ३७ मतदाता रहेको यस प्रदेशमा सत्ता गठबन्धनदलकै मतभार बढी छ ।
अंकगणित अनुसार सत्ता बाहिर रहेका एमाले, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ४५ सांसद छन् । बागमती प्रदेश सभातर्फ ५३ मतभारले प्रतिपक्षी दलहरूको कुल मतभार २ हजार ३ सय ८८ मात्रै हुन आउँछ । यस्तै स्थानीय तहको संख्या १ सय १९ छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २ सय ३८ रहेकोमा दोलखाको गौरीशंखर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको गत असार ३१ गते हृदयघातका कारण मृत्यु भएको थियो । जसका कारण एक मतदाता कम छ ।
मतभार १९ रहेको स्थानीय जनप्रतिनिधिको बागमतीमा ४ हजार ५ सय ३ मतभार रहेको छ । जसमा स्थानीय तहतर्फ गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका १ सय ७ (गौरीशंखर गाउँपालिका उपाध्यक्षको मृत्यु भएको), माओवादी केन्द्रका ५७, नेकपा एकीकृत समाजवादीका ९ जनप्रतिनिधि छन् । सत्ता गठबन्धनमा आवद्ध १ सय ७३ जना स्थानीय तहका जनप्रतिनिधिको १९ मतभारले ३ हजार २८७ मतभार हुन आउँछ । यसबाहेक प्रतिपक्षमा रहेका नेकपा एमालेका ६० र अन्य ४ दलका जनप्रतिनिधि गरी ६४ जनप्रतिनिधि छन् । जसमा प्रतिपक्षी दलहरुको १ हजार २ सय १६ मतभार हुन आउँछ ।
बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यकाे रिक्त रहने पदकाे लागि एमालेबाट दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । चौलागाईंले महिला क्लस्टरबाट देवकोटाले अपांग क्लस्टरमा, विश्वकर्माले दलित क्लस्टरमा र पौडेलले अन्य क्लस्टरमा उम्मेदवारी दिएका छन् ।
नेमकिपाबाट अपांग क्लस्टरबाट भक्तपुरका हिमालयश्वरलाल मुलले, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जनले मनोनयन दर्ता गराएका छन् । यसैगरी दलिततर्फ भक्तपुरकी संगीता नेपाली र महिलातर्फबाट कृष्ण लक्ष्मी दुवालले मनोनयन दर्ता गरेकी छिन् । राष्ट्रियसभा सदस्य पदको बागमतीको ४ सिटका लागि राप्रपाबाट ३ जनाले उम्मेदवारी दिएका छन् । राप्रपाबाट अपांग क्लस्टरमा चितवनका भरतमणि भट्ट, महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङले मनोनयन दर्ता गराएका हुन् । राप्रपाले दलित क्लस्टरमा भने उम्मेदवारी दिएको छैन ।
३ सय ७० प्रहरी परिचालन गरिने
बागमती प्रदेशमा हुने निर्वाचनकाे लागि विशेष सुरक्षा योजना तर्जुमा गरी सुरक्षा व्यवस्था मिलाइएको छ । सुरक्षा समितिसँगको छलफलबाट निर्वाचन स्थल, मतदान केन्द्र र निर्वाचन कार्यालयको सुरक्षाका लागि ४ वटै सुरक्षा निकायलाई परिचालन गरिने भएकाे छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचनका लागि गत पुष २२ गतेदेखि नै निर्वाचन विशेष सुरक्षा योजना तयारी गरी कार्यान्वयन गरिएको छ ।
मतदानका दिन नेपाल प्रहरीका २ सय ५० र सशस्त्र प्रहरी बलका १ सय २० गरी ३ सय ७० प्रहरी परिचालन गरिने भएकाे छ । निर्वाचनका लागि नेपाल प्रहरीले भित्री घेरामा सुरक्षा तथा सहायता प्रदान गर्नेछ भने बाहिरी तथा बजार क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिनेछ । राष्ट्रिय अनुसन्धानका जनशक्तिहरूलाई सूचना सङ्कलन तथा परिचालनमा संलग्न हुने गरी व्यवस्था गरिएको छ भने नेपाली सेनाको टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएकाे छ ।
मतदातासँग आउने व्यक्ति तथा सवारी साधनको व्यवस्थापनका लागि मतदान केन्द्रमा २० जना ट्राफिक प्रहरीको व्यवस्था गरिने छ । निर्वाचन अधिकृतकाे कार्यलयले बुधबार हेटौंडामा राष्ट्रिय सभा निर्वाचनकाे तयारी सम्बन्धमा सर्वदलीय सर्वपक्षिय छफलफ गरी जानकारी दिएकाे हाे ।
बिहीबार हुने विहान ९ वजेदेखि ३ बजेसम्म हुने निर्वाचन कार्यक्रममा उपस्थित हुने मतदाताको सुरक्षा, सहज आवागमन, सुरक्षित वसाइका लागि जिल्ला सुरक्षा समितिले निर्णय गरी योजनावद्द रुपमा अघि वढिरहेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइले जानकारी दिए ।
निर्वाचन अधिकृत श्रीप्रसाद सन्जेलको सभाध्यक्षतामा भएकाे सर्वदलीय सर्वपक्षिय बैठकमा प्रमुख जिल्ला अधिकारी सेढाइ, प्रहरी उपरीक्षक सीताराम रिजाल, शसस्त्र प्रहरी १४ नम्बर गणका गणपति अनिल कार्की, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, राप्रपाका संसदीय दलका नेता तथा प्रदेश सांसद उद्दव थापा, प्रदेश सांसद आशा लामा, प्रदेश सासंद लक्ष्मी घिमिरे, राजनीतिक दलका प्रतिनिधिहरु, उम्मेदवार, संचारकर्मीलगायतकाे उपस्थिति थियाे ।