भरतपुर, १० माघ ।
राष्ट्रपति रनिङ शिल्डमा भरतपुरको तर्फबाट पदक विजेता ८३ खेलाडी विद्यार्थीलाई मंगलबार पुरस्कृत र सम्मान गरिएको छ । पुस २७ र २८ गते सञ्चालन भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुरले ५० पदक हात पार्दै प्रथम स्थान हासिल गरेको थियो ।
भरतपुरले १५ स्वर्ण, १८ रजत र १७ कास्य पदक जित्न सफल भएको थियो । १६ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेले क्रमशः रु ५ हजार, ३ हजार र २ हजार प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकामा एक समारोहबीच विजेता खेलाडी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र शैक्षिक महाशाखा प्रमुख महेन्द्र पौडेलले संयुक्तरुपमा पुरस्कृत गरे ।
समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी सानदार जित हासिल गर्न सफल विजेता विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरिन् । भरतपुरले प्रथम स्थान हासिल गरेपछि महानगरपालिकाको तर्फबाट विजेता खेलाडीलाई थप प्रोत्साहनका लागि पहिलोपटक पुरस्कारको व्यवस्था गरिएको प्रमुख दाहालले बताइन् ।
यसअघि भरतपुर महानगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता भएर आउने खेलाडीलाई नगरसभा समारोहमा पुरस्कृत गर्दै आइरहेको थियो । प्रमुख दाहालले आगामी दिनमा हुने प्रदेश र संघीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उच्च मनोबलका साथ प्रदर्शन गरी उपाधि प्राप्त गर्न अग्रिम शुभकामना समेत व्यक्त गरिन् ।
भरतपुरले एथलेटिक्स र कराँँतेमा समान ६–६ स्वर्ण जित्दा भलिबलमा २ र तेक्वान्दोमा १ स्वर्ण हात पारेको थियो । भरतपुरले १८ रजत र १७ कास्य पदक पनि जित्न सफल भएको थियोे । एथलेटिक्समा ९ रजत जितेको भरतपुरले कराँँतेमा ८ र तेक्वान्दोमा १ रजत जितेको थियो भने १७ कास्य जितेको थियो ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा सातै पालिकाबाट एक हजार ४ सयभन्दा बढी खेलाडी सहभागी थिए ।