मकवानपुर, ९ माघ ।
मकवानपुरको बागमती गाउँपालिकामा आगामी फागुन १ गतेबाट छैटौं संस्करणको ‘बागमती गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुन १ गतेदेखि १० गतेसम्म प्रतियोगिता हुने सोमबार गाउँपालिकामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
बागमती–८ स्थित जनता माविको खेलमैदानमा हुने प्रतियोगितामा एक विदेशी टिम, ६ वटा “ए” डिभिजन क्लब र ३ वटा मोफसलको गरी १० वटा क्लबहरूको सहभागिता रहने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टीकालाल श्रेष्ठले बताए ।
उनका अनुसार प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा करिब ६९ लाख ६० हजार खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । प्रतियोगितामा बागमती गाउँपालिकाबाट ३० लाख र अन्य खर्च प्रदेश खेलकुद परिषदबाट १५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरूबाट प्राप्त हुने आयोजकले जनाएको छ ।
बागमती गोल्डकपको पहिलाे संस्करणकाे उपाधि हरिहरपुरगढी सिन्धुलीले हात पारेकाे थियाे । दोस्रो संस्करणकाे उपाधि सरस्वती युवा क्लब काठमाडौंले जितेकाे थियो भने तेस्रो गोल्डकपको उपाधि जावलाखेल युवा क्लब ललितपुरले हात पारेको थियो । प्रतियोगिताको चौथो संस्करण उपाधि थ्री स्टार क्लबले हात पार्दा पाँचौँ संस्करणको उपाधिकाे विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिका भएकाे थियो । यस संस्करणमा भने उक्त क्लबले सहभागिता नजनाउने अध्यक्ष श्रेष्ठले बताए ।