भरतपुर, ८ माघ ।
पाँचौँ संस्करणको मिमुरा कप -२०८० रनिङशिल्ड नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल माघ ९ गते हुने भएको छ । अखिल क्रान्तिकारी, विश्वविद्यालय क्याम्पस समितिको आयोजनामा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनको खेल मैदानमा प्रतियोगिता पुस २८ गतेबाट सुरु भएको थियो ।
प्रतियोगितामा देशैभरका १८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत भोलि समापनको अन्तिम खेल कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र शहीद स्मारक कलेज, शारदानगर बीच हुनेछ । कृषि संकाय, रामपुरलाई ३ – २ गोल अन्तरले र पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, रामपुरलाई ४ – २ गोल अन्तरले पराजीत गर्दै कृ.व.वि.वि, रामपुर र शहीद स्मारक, शारदानगर फाइनलमा पुगेका हुन् ।
विजेता हुने टोलीले उपाधिसहित नगद पचहत्तर हजार पाँच सय पचपन्न हात पार्नेछन् भने उपविजेता हुने टोलीले नगद पैंतीस हजार पाँच सय पचपन्न पाउने छन् । त्यस्तै खेलभरिका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई मेडल, प्रमाणपत्र सहित नगद दुई हजार पाँच सय प्रदान गरिने कार्यक्रम संयोजक प्रदीप रिजालले जानकारी दिए ।
महान् सहिद मित्रमणि आचार्य, मुकुन्द न्यौपाने र रामबहादुर खड्काको स्मृतिमा २०७२ बाट मिमुरा कप फुटबल प्रतियोगिता हुँदै आएको छ । पछिल्लो ४ वर्ष सञ्चालन हुन नसकेको प्रतियोगिता यो वर्षबाट भने रनिङ शिल्डकै रूपमा अगाडि बढाइएको आयोजकले जनाएको छ ।