भरतपुर, ७ माघ ।
भरतपुरमा आगामी साता सुरु हुने मैयाँदेवी मेमोरियल यु–१९ महिला क्रिकेट प्रतियोगितामा नेपालमै बनेका स्टम्प र बेल्स प्रयोग गरिने भएको छ ।
माघ १२ देखि गौतम बुद्ध क्रिकेट रंगशालाको खेलमैदानमा सुरु हुने प्रतियोगितामा राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँले बनाएका स्टम्प र बेल्स प्रयोग गरिने प्रतियोगिता निर्देशक अनिल अधिकारीले जानकारी दिए ।
नेपाल क्रिकेट संघको अनुसन्धान र विकास कार्यक्रमअन्तर्गत नेपाल आविष्कार केन्द्रसँगको सहकार्यमा यो प्रयास गरिएको उनले जानकारी दिए । “आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको भेटपछि अहिलेलाई यो काम सम्भव हुने देखिएको हो”, उनले भने– “आगामी दिनमा ठूलो धनराशी खर्च हुने क्रिकेट ब्याटसमेत नेपालमै बनाउने प्रयास भइरहेको छ ।”
अहिलेलाई साना सामग्री प्रयोग गरिए पनि यसले खेलकुद सामग्रीमा आत्मनिर्भरताको सुरुआत भएको सन्देश दिने अधिकारीले बताए ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले पूर्व सांसद स्वर्गीय मैयाँदेवी श्रेष्ठको स्मृतिमा १९ वर्षमुनिको राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा देशका ७ वटै प्रदेशका टोलीको सहभागिता रहने जनाइएको छ । सहभागी हुने ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा गण्डकी, सुदूरपश्चिम, कोशी र मधेश तथा समूह ‘बी’ मा कर्णाली, बागमती र लुम्बिनी रहेका छन् । उद्घाटन खेलमा माघ १२ गते गण्डकी र सुदूरपश्चिम प्रदेश भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ ।
सन् २०२४ मा यूएईमा हुन गइरहेको एसिया कप छनोट र सन २०२५ मा मलेसिया र थाइल्याण्डमा हुने विश्वकपलाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्यांकनमा समेत यो प्रतियोगिता कोशेढुंगा सावित हुने नेपाल क्रिकेट संघले विश्वास लिएको छ ।