मकवानपुर, ६ माघ ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कंडेलले नेपालमा कृषिसम्बन्धी प्रविधि हस्तान्तरणमा बीउबिजन व्यवसायीको ठूलो योगदान रहेको बताएका छन् ।
नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको शनिबार हेटौंडामा भएकाे नवौँ साधारणसभामा उनले भने – ‘राम्रो बीउ हुँदा उत्पादन वृद्धि हुने भएकाेले गुणस्तीरय बीउ आवश्यक भएको हाे ।’ आयात प्रक्रिया लामो हुँदा बीउ आउन ढिलाई हुने गरेको उनले बताए । यस्तै नेपाल बीउ व्यवसायी संघका केन्द्रीय महासचिव विश्वराज बानियाँले बिउबिजनसम्बन्धी नियमावलीको अभावमा बीउबिजन दर्ता रोकिए बताए । मौसममा आएको परिवर्तनले पनि कृषि उत्पादनमा समस्या आउने गरेकाे उनकाे भनाइ रहेकाे थियाे ।
यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले आर्थिक मन्दीले देशको सबै क्षेत्र प्रभावित भएको बताउँदै कृषियोग्य जग्गा प्लटिङ र युवा विदेसिने क्रम बढ्दै गएकोले कृषि उत्पादन प्रभावित भएको जानकारी दिए । अग्रवालले बीउबिजन व्यवसायीको समस्या समाधानमा उद्योग वाणिज्य संघले सहजीकरण गर्ने बताए ।
साधारण सभाका गुणस्तरीय बीउको अभावमा बीउबिजनमा नेपालको परनिर्भरता बढ्दै गएको भन्दै देशभित्रै गुणस्तरीय बीउ उत्पादनका लागि नीति निर्माणमा जोड दिइएको थियो । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा हेटौँडा उपमहानगरपालिका- १८ स्थित गुम्बाडाँडामा भएको साधारण सभामा नेपाल बीउ व्यवसायी संघ बागमती उपाध्यक्ष हरिशरण अर्याल, नेपाल विषादी व्यवसायी संघ चितवनका अमोदराज कँडेल, बीउबिजन व्यवसायी सुदर्शन विष्टलगायतको आतिथ्य रहेकाे थियाे ।