वालिङ, ६ माघ ।
कवि विमल वैद्यको नवीनतम कविता कृति `युगको तटमा उभिएर´माथि शुक्रबार वालिङमा विमर्श गरिएको छ । सोही क्रममा उनको एकल कवितावाचन कार्यक्रम पनि भएको छ ।
वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान- २०७६ स्याङ्जाको आयोजनामा भएको कार्यक्रममा कवि वैद्यको कृतिमाथि विमर्श र एकल कविता वाचन सम्पन्न भएको हो । मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको कार्यक्रममा कवि वैद्यको कविता कृतिमाथि युवा समीक्षक लक्ष्मण वियोगीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।
कवितावाचनको पहिलो चरणमा कवि वैद्यले युगको तटमा उभिएर कवितासङ्ग्रहबाट ५ वटा कविता वाचन गरेका थिए ।
त्यसपछिको क्रममा कविहरू वसन्त खनाल, अनन्त अर्याल, बोधराज न्यौपाने, देशबन्धु आचार्य र शम्भु अर्यालले आ-आफ्ना सिर्जना वाचन गरेका थिए । दोस्रो चरणमा कवि वैद्यले आफ्ना थप ५ वटा कविता वाचन गरेका थिए ।
त्यसपछिको क्रममा कविहरू कमल बगाले, सुवासचन्द्र नेपाली, नारायणप्रसाद रेग्मी, हरि पङ्गेनी, डा. अच्युतशरण अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, भीमप्रसाद पाण्डे र दमकुमारी बगालेले आ-आफ्ना सिर्जना वाचन गरेका थिए ।
तेस्रो चरणमा कवि वैद्यले केही मुक्तकसहित आफ्ना २ वटा सिर्जना सुनाएका थिए ।
अभियानका संस्थापक युवाकवि मिलन समीरले कार्यक्रम संयोजन गरेका थिए ।