मकवानपुर, ६ माघ ।
बागमती प्रदेशकाे राजधानी हेटौंडामा स्थानीय तह छैठौं शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएकाे हाे ।
आगामी माघ १६ गतेबाट माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियाेगिता जिल्ला फुटबल संघ मकवानपुरकाे आयाेजनामा हुनेछ । यसवर्ष प्रतियोगितामा आयोजक, आठवटा ए डिभिजन क्लब , एउटा विदेशी, दुईवटा मोफासलका क्लब गरी १२ टिमकाे सहभागी हुने हेटौडामा पत्रकार भेटघाट गरी जानकारी दिइएको छ ।
जिल्ला फुटबल संघ मकवानपुरका अनुसार प्रतियोगितामा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लब सहभागी हुनेछन् । यसैगरी प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुनेछन् । आयोजककाे तर्फबाट रिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको हाे ।
हेटौंडा–६ स्थित गौरिटार रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद १५ लाख, उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई यसवर्ष पनि करिब ५ लाख रुपैयाँ बराबरको बुलेट मोटरसाइकल प्रदान गरिने भएको छ । मोटरसाइकलको प्रायोजन पर्शराम स्मृति प्रतिष्ठानले गरेको संघ अध्यक्ष टिकाराम लामाले जानकारी दिए । प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको छैटौं संस्करण आयोजनाका जिम्मेवारी हेटौंडा–१५ को न्यू डाँफे युथ क्लबलाई प्रदान गरिएको छ । डाँफेले प्रतियोगिताका लागि मैदानको स्तरोन्नति, टिकट तथा अन्य आन्तरिक व्यवस्थापन गर्नेछन् ।
जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा फुटबल संघले शहीद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ । २०६/०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो ।
प्रतियाेगिताकाे पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले हात पारेकाे थियो । २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो । प्रतियोगिताको पाँचौं संस्करणकाे उपाधी सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेकाे थियो । फाइनलमा हिमालयन शेर्पालाई पराजित गर्दै एपीएफले पाचौं संस्करणकाे उपाधि जितेको हो । ।