भरतपुर, ६ माघ ।
भरतपुर महानगरपालिका- ५ कैलाशनगर निवासी निरज क्षेत्रीले आफूले अध्ययन गरेको विद्यालयलाई शैक्षिकसामग्रीसहित नगद सहयोग गरेका छन् । घर नजिकै रहेको श्री कैलाशनगर माध्यमिक विद्यालयमा निरजले प्रारम्भिक शिक्षा आर्जन गरेका थिए । आफूले कखरा पढेको विद्यालयलाई एक लाख तीस हजार रुपैयाँ बराबरको टेबल, कम्प्युटर, नर्सरी शैक्षिक सामग्री, पुस्तक, कार्पेटलगायतका सामग्री उपलब्ध गराइएको निरजले बताए ।
शैक्षिकसामग्रीसँगै उनले एक लाख रुपैयाँको चेक विद्यालयका प्रधानाध्यापकलाई उपलब्ध गराए । उक्त शैक्षिकसामग्री र नगदबाट विद्यार्थीको पठनपाठनमा ठुलो सहयोग मिल्ने प्रधानाध्यापक हीरामणि सापकोटाले बताए । सहयोग गरिएको नगद रकम मुद्दती खातामा राख्ने र त्यसबाट प्राप्त ब्याजले प्रत्येकवर्ष नर्सरीका बालबालिकालाई कापीकलम खरीद गरिने सर्त रहेको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा निरजका बुवा शैक्षिक एवम् सामाजिक व्यक्तित्व एलबी क्षेत्री, आमा मीना लामिछानेसहित परिवारजनको उपस्थिति थियो ।